भरतपुर, १० साउन ।
लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले बिहीबार एक कार्यक्रमबिच भरतपुर ७ स्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा कुर्सी हस्तान्तरण गरेको छ । सो कुर्सीहरु लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका गभर्नर दिनानाथ न्यौपानले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । क्लबले प्रदान गरेको कुर्सीहरु अस्पतालका अप्रेसन कक्ष अगाडि राखिएको छ ।
कार्यक्रममा बिपी मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष विजयराज न्यौपाने तथा कार्यकारी निर्देशक शिवजी पौडेल दुवै जनाले कुर्सीहरुले बिरामीका कुरुवाका लागि ठुलो राहत प्रदान गर्नेमा आफूहरु ढुक्क भएको बताए । उनीहरुले बिरामीका कुरुवाहरुका लागि अत्यावश्यक सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आउँदा दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
अस्पताललाई हस्तान्तरण गरिएको ३ जना बस्न मिल्ने १५ थान कुर्सी करिब २ लाख बराबर भएको क्लबकी निवर्तमान अध्यक्ष डा. सरिता राना गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गभर्नर नवराज सापकोटा, द्वितीय भाईस गभर्नर प्रभाकर पण्डित, डिष्ट्रिकका कोषाध्यक्ष शंकर नेपाल, एक्जुकेटिभ चिफ पूर्णप्रसाद शर्मा लगायतका लायनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष ज्ञानप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।