उपन्यासकार सरस्वती प्रतीक्षाको ‘स्व’ आफैँमा एक उपन्यास त हुँदै हो, त्योभन्दा बेसी हरेक पाठकलाई आफ्नो ‘स्व’को खोजी गर्न झक्झक्याउने ‘मोटिभेसनल’ कृति पनि हो । जसरी उपन्यासको नायक सप्तमले एकै साथ एउटा क्याम्पसको पूर्णकालीन प्राध्यापक, अर्को क्याम्पसको आंशिक प्राध्यापक, कानुन व्यवसायी, जग्गा व्यवसायी, मोटिभेसनल स्पिकर, रेडियोको कार्यक्रम प्रस्तोता र लेखकको परिचय बोकेर हिँडेको छ, त्यसरी नै हामीले पनि एकै साथ विभिन्न परिचय बोकेर हिँडेका होऔँला । तर उसले तीभन्दा बाहेक पनि आफ्नो अस्तित्वको खोजी गरेका छ । हो, त्यही अस्तित्वको खोजी नै हो, ‘स्व’ उपन्यास ।
मेरो पठन बानी र समीक्षाको सन्दर्भ
नपढ्नेहरूका वृत्तमा एउटा नवीन उखान निकै लोकप्रिय हुँदै गएको छ, “पढेर हात्ती ठुलो भएको होइन, नपढेर कमिला सानो भएको होइन ।” यो उखान कसरी बन्यो ? म कत्ति पनि जान्दिनँ । मलाई यत्ति थाहा छ, पढ्नु मेरो रुचि र पेसालाई सुहाउँदो काम हो । पढ्दा म ध्यानमा हुन्छु र मनग्गे मनोरञ्जन गरिरहेको हुन्छु । हालसालै प्रकाशन मिति वि.सं. २०८१ जेठ राखेर यही असारको पहिलो साता बजारमा देखा परेका दुई उपन्यास ‘तथागत’ र ‘स्व’ सँगसँगै जसो पढ्ने अवसर जुट्यो । दुबै उपन्यासले बुद्धमार्गलाई केन्द्रमा राखेर कथावस्तु अगाडि बढाएका छन् । आफूले पढेर सकेका कृतिका बारेमा केही लेख्नु समालोचकको धर्म नै भएकाले यहाँ ‘स्व’ उपन्यासका बारेमा केही लेख्ने प्रयास गरेको छु ।
मानसबिम्बमा सरस्वती प्रतीक्षा
अहिले मिति ठ्याक्कै याद नभए पनि पचासको दशकतिर साहित्यिक कार्यक्रमको मेसो पारेर पोखरा जाँदा सूर्यचन्द्र युवाक्लवको कार्यक्रममा पहिलोचोटि मसँग भेटिएकी हुन् सरस्वती प्रतीक्षा । भूपिनको समकक्षी भएर पनि उनीसँग कवि भूपिनसँग जत्तिको सामीप्य कहिल्यै भएन । सारै नजिक नभए पनि उनी मसँग त्यति टाढा पनि छैनन् । एउटा लेखक र समालोचकका बिचमा योभन्दा बढी के चाहियो र ?
पाठकवृन्द, सुन्दर पर्यटकीय नगरी पोखरालाई कर्मथलो बनाएर नेपाली साहित्यको अथक साधनामा लागेकी क्रियाशील स्रष्टा हुन् सरस्वती प्रतीक्षा । कविताको उबडखाबड बाटो हुँदै उपन्यासमा प्रवेश गरेकी उनको पहिलो उपन्यास ‘नथिया’ हो भने ‘स्व’ दोस्रो उपन्यास हो । अन्य उपन्यासकारका पहिलो र दोस्रो कृतिमा धेरै कुरामा समानता पाइन्छ, तर सरस्वती प्रतीक्षा त्यो कुरामा अरुभन्दा बिल्कुल भिन्न छिन् । उनको ‘नथिया’भन्दा ‘स्व’ धेरै कुराले फरक छ । त्यसैले यो उनको दोस्रो आविष्कार हो ।
‘स्व’ उपन्यासको सामान्य चिनारी
पहिलो उपन्यास ‘नथिया’ निस्केको सात वर्षपछि दोस्रो उपन्यास ‘स्व’ लिएर नेपाली पाठकका माझमा सरस्वती प्रतीक्षा पुनः देखापरेकी छिन् । बुक हिल पब्लिकेसन प्रा.लि., काठमाडौँले प्रकाशित गरेको यो उपन्यास कूल २८० पृष्ठको आयाममा फैलिएको छ । पाठकवृन्द, जम्मा ५९९ रुपैँया मूल्य राखिएको यो कृति आकार, आयाम र प्रस्तुतिका हिसाबले तिरेको मूल्य उठ्ने खालको छ ।
जम्मा दुई खण्ड र बीसवटा शीर्षकसहितको परिच्छेदमा विभक्त यो उपन्यासमा सप्तम नामक पात्रको बाहिर देखिँदा सरल तर भित्रतिर अत्यन्त जटिल जीवनको चित्रण गरिएको छ । सप्तमलाई सघाउने उसकी सदाबहार प्रेमिका काव्या छिन् र छन् अन्य पात्रहरू पनि । बाबुको किरिया बसेको घटनाबाट सुरु भएको यो उपन्यासमा नायक सप्तम आफ्नो ‘स्व’को खोजीमा घरव्यवहार, जागिर, व्यवसाय आदि सबै त्यागेर हिँडेको देखाएर टुङ्ग्याइएको छ । यसभित्र जीवन दर्शन, बुद्ध दर्शन र प्रेमको दर्शनलाई पनि मार्मिक तरिकाले उनिएको पाइन्छ ।
‘स्व’ भित्र स्वको खोजी छ त ?
म यहाँ ‘स्व’ उपन्यासको सिङ्गो कथावस्तु भन्दिनँ । त्यसो त उक्त उपन्यासको विधागत विश्लेषण पनि गर्दिनँ म । मैले सबै कुरा भनिदिने हो भने तपाईले उक्त उपन्यास नपढ्ने सम्भावना बढेर जान्छ । एउटा समालोचकको काम कुनै पनि कृति पढ्नका लागि पाठकमा हुटहुटी जगाउनु हो । म पनि यहाँ त्यही प्रयास गर्दै छु ।
त्यसो त ‘स्व’ आफैँमा एक उपन्यास त हुँदै हो, त्योभन्दा बेसी हरेक पाठकलाई आफ्नो ‘स्व’को खोजी गर्न झक्झक्याउने ‘मोटिभेसनल’ कृति पनि हो । जसरी उपन्यासको नायक सप्तमले एकै साथ एउटा क्याम्पसको पूर्णकालीन प्राध्यापक, अर्को क्याम्पसको आंशिक प्राध्यापक, कानुन व्यवसायी, जग्गा व्यवसायी, मोटिभेसनल स्पिकर, रेडियोको कार्यक्रम प्रस्तोता र लेखकको परिचय बोकेर हिँडेको छ, त्यसरी नै हामीले पनि एकै साथ विभिन्न परिचय बोकेर हिँडेका होऔँला । वास्तवमा हाम्रो वास्तविक पहिचान त्यति मात्र हो कि त्योभन्दा फरक पनि केही छ ? यसका बारेमा हामीले कहिल्यै सोचेका छौँ ?
‘स्व’ उपन्यासभित्र नायक सप्तमलाई आफ्नो ‘स्व’को खोजी गर्न हरियो पत्रले काम गरेको छ । खोज्दै जाँदा त्यो हरियो पत्र अरु कसैले लेखेको नभएर विशेष मानसिक अवस्थामा ऊ आफैँले आफैँलाई सम्बोधन गरेर लेखेको हुन्छ । हामीभित्र पनि चेतन र अवचेतन दुईवटा मनका तहहरू एकै साथ सक्रिय रहेका हुन्छन् । यिनीहरूका बिचमा मेल कम बेमेल ज्यादा हुन्छ । चेतन मन समाज र संस्कारसँग सम्बद्ध हुन्छ भने अवचेतन मन ‘स्व’सँग सम्बन्धित हुन्छ । वास्तवमा हामी आफ्नो लागि ज्यादै कम र अरुका लागि ज्यादा बाँचिरहेका हुन्छौँ । त्यसले हामीमा मनोवैज्ञानिक समस्या सिर्जना गर्छ, त्यसैले ‘स्व’को पहिचान गरेर हिँड्न सक्यौँ भने हामी दुःखबाट मुक्त हुन सक्छौँ, यही निष्कर्ष हो ‘स्व’ उपन्यासको । यसका लागि बुद्धमार्गको उपयोग गरेको छ यो उपन्यासले । मैले त ‘स्व’भित्र सप्तमको ‘स्व’ भेटेँ र मेरो आफ्नै ‘स्व’को खोजी गर्ने हुटहुटी पाएँ । पाठकवृन्द, यदि तपाईं पनि दुःखमा हुनुहन्छ र आफ्नो ‘स्व’ भेट्नुभएको छैन भने एक पटक सरस्वती प्रतीक्षाको ‘स्व’ अवश्य पढ्नुहोला ।
बुद्धधर्मका बारेमा ‘स्व’को धारणा के छ ?
हर्मन हेस्सेको ‘सिद्धार्थ’ उपन्यास पढ्दा मलाई निकै आनन्द आएको थियो । त्यस्तै आनन्द सरस्वती प्रतीक्षाको ‘स्व’ पढ्दा आयो । मैले ‘स्व’ उपन्यास पढ्दा आख्यान मात्र पढिनँ । त्यसमा जीवन पढेँ, बुद्धधर्म पढेँ, त्यसका कर्म देशना पढेँ, विभिन्न सामाजिक संस्कार पढेँ, मानिसभित्रका तनावका तहहरू पढेँ । तपाईं एउटा कृतिमा केके पढ्नुहुन्छ ? पढेर केके भेट्नुहुन्छ ? त्यो त तपाईंको कुरा नि ।
हिजोआज अतिराष्ट्रवाद हावी बन्दै गएको छ । गौतम बुद्धलाई त्यति बेला अस्तित्वमै नरहेको नेपालको नागरिक बनाउनमा उद्धत छौँ हामी । हाम्रो देशमा बुद्ध जन्मिए कि हामी बुद्ध जन्मिएको ठाउँमा जन्मियौँ ? हामीले बुद्धका वाणीलाई के कति अवलम्बन ग¥यौँ ? हामीले बुद्धलाई कुन रूपमा पढ्यौँ ? कुन रूपमा बुझ्यौँ ? यसका बारेमा चाहिँ कसले सोचिदिने ? ‘स्व’ले उठाएको प्रमुख मुद्दा भनेको नै यही हो । त्यति मात्र नभएर अबको पुस्ताले बुद्धलाई कुन रूपमा बुझ्दा राम्रो हुन्छ ? भन्ने सन्देश पनि हो ।
बुद्धका समयमा बुद्धधर्म धर्म नभएर केवल आचरण थियो, जीवनलाई हेर्ने वैज्ञानिक दर्शन थियो । अचेल त्यसलाई धर्मका रूपमा लिने र त्यसको प्रचार गर्ने काम भएको छ । दुःख निवारणका लागि बुद्धले दिएको सन्देशलाई भुलेर कतिपय अवस्थामा बुद्धका नाममा व्यापार गर्ने काम पनि भएको छ । यसका बारेमा सोझो तरिकाले नभएर कलात्मक विरोध पनि गरिएको छ ‘स्व’ उपन्यासमा ।
‘स्व’ बुद्धदर्शन हो कि आख्यान ?
हो, दार्शनिक विषयमा उपन्यास लेखिँदै आएका छन् र कालान्तरमा लेखिन पनि सक्छन्, तर पुरापुर दर्शन आफैँमा आख्यान भने कदापि हुन सक्दैन । यदि उपन्यासकारले सिङ्गो उपन्यासमा दर्शन नै दर्शन ओकल्न थाल्यो भने त्यो कृति उपन्यास नबनेर दर्शनको ठ्यासफु बन्ने सम्भावना हुन्छ । दर्शनको लेप लागेको भए पनि आख्यानको चास्नीमा डुबाइएकाले ‘स्व’ उपन्यास हो, दर्शन होइन । ‘स्व’ उपन्यासको पछाडिपट्टिको आवरणमा लेखिएको छ :
“मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैँलाई खोजिरहँदाका आरोह–अवरोहले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ ।”
तपाईंले ‘स्व’ उपन्यास पढ्नुभयो भने त्यसमा सातवटा कर्म देशना पढ्न पाउनुहुन्छ । त्यसबाहेक अत्याधुनिक खालको गुम्बाभित्र रहेको प्राचीन जीवनशैली देख्न पाउनुहुन्छ । एक हप्ताका लागि मौनता धारण गरेका भिक्षुहरू भेट्नुहुन्छ । यी सब कुरा जादुयी तरिकाले उपन्यासमा आएका छन् । अत्यधिक तनावका कारण गाडी चलाएर घर बाहिर निस्केको सप्तमको गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएपछि एक हप्तासम्म इन्तुनचिन्तु भएर अस्पतालको आइसीयुमा भर्ना भएको अवस्थामा उसले सपनाका रूपमा कर्म देशना सुनेको छ । अस्पतालबाट डिस्चार्ज भएर घरमा लगिएपछि आफ्नी प्रेमिका काव्यालाई समेत केही नभनी एउटा चिठी लेखेर आत्मिक शान्ति र ‘स्व’को खोजीमा सप्तमलाई घरबाट निस्केको देखाउनु बुद्धदर्शन नभएर आख्यान हो भन्ने ठहर हो मेरो ।
‘स्व’लाई आख्यान नै किन मान्ने त ?
बेलाबेलामा नेपाली आख्यानमा विविध प्रयोगहरू हुने गरेका छन् । जीवनीपरकता, श्यामव्यङ्ग्य, अधिआख्यान त्यसका केही उदाहरण हुन् । त्यस्तै खाले प्रयोग ‘स्व’ उपन्यासमा पनि पाइन्छ । यसमा सुरुमा सामान्य हिन्दु परम्पराको जीवनशैली बाँचेको सप्तमको दिनचर्या चित्रण गरिएको छ भने सवारी दुर्घटनामा परी बेहोस रहेको अवस्थामा सपनामा बौद्धमार्गी समाजको चित्रण गरिएको पाइन्छ । दुबै हातले उत्तिकै लेख्न सक्ने सप्तमलाई अवचेतन अवस्थाको सप्तमभित्रको ‘स्व’ले हरियो मसीले लेखेको चिठी नै यो उपन्यासको मुख्य आकर्षण हो ।
अन्य उपन्यासभन्दा फरक ‘स्व’मा एउटा छोराले बाबुआमाले गरेका यातनाका विरुद्ध गर्ने अपार घृणा, एउटी छोरीले बाबुको तिरस्कारलाई देखाउन गरेका प्रतिशोध, आततायी बाबुका हात काटेर आमालाई उपहार दिनेजस्ता डरलाग्दा घटना यसका वीभत्स चित्रण हुन् । यसबाहेक पनि यसभित्र जीवनका विविध आयाम चित्रण गरिएको छ । जीवन, प्रेम, समाज, संस्कार, भोगाइ, नारीका भावना, सम्यक् विद्रोह यसका मूलभूत प्राप्ति हुन् । काव्यात्मक भाषाशैली यसको कलात्मक मूल्य हो । समग्रमा बुद्धदर्शनलाई सामान्यीकरण गरी लेखिएको ‘स्व’ उपन्यास नेपाली उपन्यासको एउटा उच्च प्राप्ति हो । यसका लागि उपन्यासकार सरस्वती प्रतीक्षालाई मुरी मुरी बधाई छ । अब अर्को उपन्यास पढ्न हामीले थप सात वर्ष कुर्न नपरोस् भन्ने अपेक्षासहित कलम रोक्छु । भबतु सब्ब मंगलम् ।