भरतपुर, ८ साउन ।
यसवर्ष (विसं २०८०) को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । ती ५ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।
मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटा पुस्तकहरू छनोट गरी सूची सार्वजनिक गर्दछ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ ।
छनोटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ । २०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।