मकवानपुर, ८ साउन ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
बागमती प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको आधा आधा कार्यकाल मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको छ । पहिलो २० महिनाको लागि गठबन्धनको तर्फबाट बहादुर सिं लामालाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिएको एमाले नेता जगन्नाथ थपलियाले बताए । २० महिनापछि एमालेबाट मुख्यमन्त्री हुने गरी अहिले मुख्यमन्त्री र अर्थ काङ्ग्रेसलाई दिने सहमति भएकाे थपलियाले बताए ।
सहमति अनुसार प्रदेशको सुरुवातमा नेपाली काङ्ग्रेसका दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ । मंगलबार हेटौंडामा पुर्वमुख्यमन्त्री डोरमणि पौडेलसहित नेताहरु लामा, थपलिया, नेपाली काङ्ग्रेसका नेता इन्द्र बहादुर बनिया, पूर्व मन्त्री केशव पोख्रेलसहितका नेताहरु बसेर सहमति गरेका हुन् । सहमति अनुसार एमालेले भौतिक पुर्वाधार सहित ६ मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्री सहित ७ वटा लिने सहमति बनेको छ ।