भरतपुर, ७ साउन ।
कवि सुरेन्द्र अस्तफलको घरमा दिउँसै चोरी भएको छ । साउन ६ गते आइतबार दिउँसो भरतपुर- ४ वैदिकनगरस्थित आफ्नो घरमा चोरी भएको अस्तफलले बताए ।
`म र छोरा हेटौँडा गएका थियौँ । म्याडम १ बजे तालाचाँपी लगाएर गैंडाकोटस्थित अक्सफोर्ड कलेज गएकी थिइन् । ४ बजे घर आउँदा गेटको ताला यथावत थियो । मूल ढोकाको चाँपी र च्यानल गेटको ताल्चा तोडिएको रहेछ´, अस्तफलले भने- `चोरले ल्यापटप, डिएसएलआर क्यामरा, ल्यापटप ब्याग, गाग्री-ताउलो, सानो टुकटुके मोबाइल र कलश लगेको छ ।´
हेटौंडाबाट फर्किए लगत्तै कवि अस्तफलले आइतबार साँझ नै मौखिकरूपमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको बताए । जिप्रकामा सोमबार उनले लिखित निवेदन दिएका छन् । चोरी भएको मोबाइलमा घन्टी गएको र फोन उठेपछि गलत नम्बर भनेर राख्ने गरेको उनले बताए ।