भरतपुर, ७ साउन ।
४६औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क. पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
सोमबार नेकपा (एमाले) चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
विचार गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा पनि पुष्पलालको सान्दर्भिकता उत्तिकै रहेको बताए । कार्यक्रममा सूर्यप्रसाद शर्माले ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
कार्यपत्रमा उति बेलादेखि नै पुष्पलालले नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस र नेकपा संयुक्तरुपमा अगाडि बढ्नुपर्छ भन्ने संयुक्त जनआन्दोलनको नीति अगाडि सार्नुभएको कुरा उल्लेख छ । विगतका इतिहासलाई हेर्दा पनि नेपाली काँग्रेस र नेकपा मिल्दा नै महत्वपूर्ण ऐतिहासिक परिवर्तन भएको कुरा कार्यपत्रमा उल्लेख छ । वर्तमानमा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नै संविधान बनेको कुरा पनि कार्यपत्रमा उल्लेख छ । अहिले संविधानको संसोधन एवम् सफल कार्यान्वयन गर्न पुनः नेपाली काँग्रेस र नेकपा एमाले मिल्नुले पनि पुष्पलालको त्यो नीति अझै सान्दर्भिक रहेको कुरा कार्यपत्रमा पुष्टि गरिएको छ । साथै पार्टीका आन्तरिक जीवन एवम् जनता र पार्टीबीचको सम्बन्ध स्थापना गर्नमा पनि पुष्पलालको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको लगायतका थुप्रै कुरा कार्यपत्रमा उल्लेख गरिएको छ ।
कार्यपत्रमाथि रमाकान्त सापकोटा र हरि सापकोटाले टिप्पणी गरेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु यम बहादुर परियार, प्रभा बराल, कपिल पोख्रेल, पोलिटब्युरो सदस्य देवी ज्ञवालीले आफ्नो आफ्नो धारणा राखेका थिए ।
नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रम एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदीलगायतका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।
श्रेष्ठको नेतृत्वमा २००६ वैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।
वि.सं. १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।