भरतपुर, ७ साउन ।
गुरु पूर्णिमाको अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा आइतबार गुरु सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत छात्रछात्राहरुले शिक्षक, शिक्षिका, गुरुबा, गुरुआमाहरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा विद्यालयका सहायक क्याप्टेन गुञ्जन अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक, शिक्षिका, गुरुबा, गुरुआमाहरुको मनोरञ्जनको लागि खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत शिक्षिका , गुरुआमाहरुको लागि म्युजिकल चियर र शिक्षक, गुरुबाहरुको लागि हट पोट्याटो सञ्चालन भएको थियो ।
म्युजिकल चियर खेलमा शिक्षिका हिमा ढकाल प्रथम, गुरुआमा अमृता मल्ल द्वितीय र शिक्षिका शोभा घिमिरेले तृतीय स्थान प्राप्त गरे ।
शिक्षक, गुरुबाहरुको लागि भएको हट पोट्याटो खेलमा गुरु सञ्जीव यादव प्रथम, शिक्षक निर्मल केसी द्वितीय र शिक्षक सुदीप तिमिल्सिनाले तृतीय स्थान प्राप्त गरे ।
कार्यक्रममा विजयी शिक्षक, शिक्षिका, गुरुबा गुरुआमाहरुलाई विद्यालयका प्राचार्य र समादेशकले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य र समादेसकले विद्यार्थीहरुलाई आफ्नो गुरुहरुले देखाउनु भएको, सिकाउनु भएको बाटो र ज्ञानको अनुसरण गर्न अनुरोध गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।
कार्यक्रम विद्यालय क्यप्टेन अनमोल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।