काठमाडौँ, ७ साउन ।
खेमनाथ दाहालको कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको छ । काठमाडौँमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा स्रष्टा दाहालको उक्त कृति लोकार्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेती, डा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
समारोहमा विभिन्न साहित्यकार र विद्वानहरूले दाहालको लेखन शैली र योगदानको प्रशंसा गरे । कृतिको समीक्षा गर्दै यज्ञश्वर निरौलाले दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित गरेको बताए ।
यस्तै, समालोचक कृष्णप्रसाद दाहालले ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आएको बताए । ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको उनले बताए ।
समालोचक प्रमोद प्रधानले दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गर्दै उहाँ सधैं सक्रिय तर चर्चामा आउन नचाहने साहित्यकार रहेको आफूले पाएको बताए । ‘उहाँको साहित्यमा जीवन र दर्शनका साथै हाम्रो परिवेश पाइन्छ । उहाँ सक्रिय रूपमा साहित्य साधानमा तल्लिन हुनुहुन्छ र चर्चाबाट टाढा रहन मन पराउनुहुन्छ’ प्रधानले भने ।
पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानो छँदादेखि नै परिचित भएको बताउदै नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको भनाई राखे । कृति ‘सिर्जनामा दृष्टि’मा रहेका भूमिकामध्ये केही आफूले अध्ययन गरेको बताउँदै स्रष्टा दाहालको लेखनमा वेजोडको कलात्मकता रहेको आफूले पाएको बताए ।
कलाकार मदनदाश श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, सम्बर्द्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राखे ।
प्रमुख अतिथि केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा व्यक्त गरे । ‘देशको राजनीतिक परिस्थिति राम्रो हुँदामात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना सधानामा तल्लिन रहेका छन् तर राज्य निरीह छ । हामी सबैले आ–आफ्नो कत्वर्य पूरा गर्नुपर्छ’ उनले भने ।
साहित्यकार लेकालीले स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने बताए । पछिल्लो समयमा भएका साहित्यिक गतिविधि, सम्मान र पुरस्कारको चर्चा गर्दै साहित्यिक पत्रकार संघले त्यसको समन्वय गर्दै अघि बढिरहेको उनले जानकारी दिए ।
सो समारोहमा सर्जक दाहाललाई सम्मान गरिएको थियो । दाहालले आफ्नो मूल विधा काव्य रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा रहेको जानकारी दिए ।
३५६ पेजको ‘सिर्जनमा दृष्टि’मा पुण्यप्रसाद शर्मा (सिक्किम)को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्वल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगाना निरौला (अमेरिका)को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका)को ‘अङ्गालो भरिको अनुभूति’, डा.डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत)को ‘ऐना’, अनुशाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका)को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका)को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गरेका छन।
दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ लगायका कृति प्रकाशित छन् । उनको मिलाप, जनमत, बगरजस्ता पत्रिकामा कभर स्टोरी प्रकाशित हुनुका साथै ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’, ‘समालोचना वृतमा खेमनाथ दाहाल’ जस्ता कृति प्रकाशित छन् ।
गीतकार गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा साहित्यकार, पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । उक्त कृति जनपक्ष प्रकाशन सिक्किमले प्रकाशन गरेको हो ।