मकवानपुर, ६ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
आइतबारको प्रदेशसभा बैठकमा एक घण्टा सम्बोधन गर्दै विश्वासको मत नलिने तर मार्गप्रसस्त गर्ने घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामाको बाटो लिएका हुन् ।
विश्वासको मतको लागि भन्दै प्रदेश सभा बैठक आइतबारको लागि आव्हान गर्न लगाएका उनले आफ्नो कार्यकाल भएका कामको फेहरिस्ता सुनाएका थिए । असार २४ गते एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका उनी राजिनामा नदिने तर प्रदेश सभाको सामना गरेर अघि बढने बताउदै आएका थिए । आफ्नो कुरा प्रदेश सभाको रेकर्डको लागि सभा रोजेको बताउँदै उनले राजीनामा रोजेका हुन् । गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नयाँ सरकार गठन गर्न आव्हान
मुख्यमन्त्री जम्कट्टेलको राजिनामासँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आइतबार आव्हान गरेका छन् ।
प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न साउन ८ गते बेलुका ५ बजेसम्मको समय तोकी आह्वान गरेका हुन् ।