सर्लक्क सिउँदो चिरेजस्तो बिचमा पूर्वपश्चिम महेन्द्र राजमार्ग, राजमार्गको उत्तरतर्फ खुल्ला फाँट, हरियो जङ्गल । दक्षिणतर्फ घर, बस्ती, अलिक तल नारायणी । नवलपुरको यही परिवेशमा जीवनको एउटा स्वप्निल, जिज्ञासु, कल्पनाशील र ऊर्जामय कालखण्ड बितेको छ । समग्र जीवनबाट यो खण्ड झिकिदिने हो भने के नै शेष रहला र ? अग्रगमनतर्फ गतिशील हुनेहरु विगत भुल्न सक्लान् तर मेरा निम्ति भने विगत सजीव र आत्मिक ।
एकदिन घरअगाडि अम्बाको रुखमुनि बसेर `मधुमालतीको कथा´ चर्को स्वरमा वाचन गरिरहेको थिएँ । साइकल चढेर आउने एक भद्र व्यक्तिले भने , `नानीले राम्रोसँग पढ्न सक्ने रहिछन् , यिनलाई स्कुल पठाइदिनुस् ।´ पुगनपुग पाँच वर्षकी मलाई भोलिपल्ट आमाले तेल हालेर कपाल कोर्दिनुभो, लुगा चिटिक्क पारेर लगाइदिनुभो र स्कुल पठाउनुभो श्री जनता प्राथमिक विद्यालय भेँडाबारी, हर्कपुर थियो त्यतिबेला । मेरो जीवनको पहिलो विद्यालय । पढ्न मजाले सक्थेँ तर लेख्ने अभ्यास थिएन । भर्खरै चार वर्ष पूरा भएको थिएँ ।
ती भद्र व्यक्तिलाई मुराउ सर भनिँदो रहेछ । वरपीपलको विशाल चौतारीनजिकै फराकिलो चौरको पश्चिमी कुनामा अङ्ग्रेजी एल आकारको एउटा चार या पाँचकोठे भवन नभनूँ घर थियो । त्यही घरको छेउको कोठामा म विद्यार्थी बनेर पहिलोपटक प्रवेश गरेको थिएँ । आकाशे निलो रङको कुर्ता, पाइजामा, हाफ स्वेटर र टोपीमा हँसिलो अनुहारसहित देखिने छन्नुराम महतो, बाङ्गो सिउँदो कोरेर कानसम्म कपालले छोप्ने ठिटौले उमेरको विन्देश्वरी थनेत, अनुहारभरि बिफरको दाग भएको अलिकति रिसाहा जस्तो देखिने तराई मूलको सप्तर्षि र मुराउ (मौर्य हुनुपर्छ) हाम्रा माड्सापहरु हुनुहुन्थ्यो । सर वा गुरु नभनेर माड्साप भनिन्थ्यो । गुरुआमाहरु कोही थिएनन्, भएको भए के सम्बोधन गरिन्थ्यो कुन्नि ! त्यहाँ मात्र होइन विद्यालय जीवनभर कतै पनि कुनै गुरुआमाहरु मैले पाउन सकिनँ । महिला शिक्षकलाई गुरुआमा बनाउने अवसर जुरेन भनौं । करिब तीस वर्ष शिक्षक बनेर बिताउँदै गर्दा लाग्छ, मेरा पनि गुरुआमाहरु कोही भइदिएको भए कस्तो छवि बस्थ्यो होला मानसपटलमा ?
जनता मावि हर्कपुरको त अहिले कायापलट भइसकेको छ । केही समयपहिले छिरेको थिएँ, मेरो पहिलो पुस्तक `जीवनको पाठशाला´ लिएर मेरो जीवनको पहिलो पाठशालामा र हर्षले विभोर भएको थिएँ । मावि, उमावि र क्याम्पस हुँदै हुर्किरहेको म पढेको विद्यालय । मजस्ता सिँगाने शिशुहरु जो वरको लहरामा पिङ खेल्थ्यौँ, वर र पीपलका झरेका दाना, राजमार्गदेखि पारिपट्टिका लतरीका कोसा, यदाकदा सुका मोहोरका पीपलमेट खाएर भोक बिर्सन्थ्यौँ । आज आफू प्रौढतातर्फ लम्कँदै गर्दा विद्यालय भने झन्झन् जवान बनेर हाम्रो बुढ्यौलीलाई जिस्क्याएझैँ पनि लाग्यो कता कता । अहिले पनि म र मजस्ता कैयौंको व्यक्त अव्यक्त भावना र इतिहासको चिर साक्षी बनेर त्यो चौतारो त्यहीँ र त्यसरी नै बसिरहेको छ । कैयौंका बालसुलभ चकचक, कैयौंका बैँसालु कामना र कैयौं वृद्धवृद्धाका गुनासाको चिर साक्षी यो चौतारो मजस्ता धेरैको भावनामा गहिरोसँग टाँसिएर उभिएको छ ।
जनता प्राविमा तीन कक्षासम्म मात्र थियो । चार कक्षामा रत्न राज्यलक्ष्मी मावि पितौँजी आइयो । बस स्टेसनपछि यात्री छुटेझैँ जुठनी, बुधनी, शशी, चन्द्रा, निर्मलाहरु कता कता छुटे। अरु बाँकी पितौँजी आइयो होला सायद । पितौँजी स्कुलको पर्खालभरि कुरुप अक्षरमा नाराहरु मात्र लेखिएका थिए । चालीस साल वरपर देशको पञ्चायती व्यवस्थाभित्रका विसङ्गतिविरुद्ध जिन्दावाद र मुर्दावाद पोखिएका होलान् सायद । देख्थ्यौँ तर बुझ्न सक्दैनथ्यौँ हामी केटाकेटीले । चार कक्षादेखि दस कक्षासम्म यही विद्यालयमा पढियो । यतिका वर्षपछि कहिलेकाहीँ आफू हिँडी आएको जीवनको बाटो फर्केर हेर्दा लाग्छ, सबैभन्दा रमाइला दिन तिनै रहेछन् ।
द्रोण पोखरेल, राजकुमार हमाल, हरिराम हरिजन, डोलबहादुर कुँवर, शिव आचार्य, दुर्गादत्त भुसाल, शिव घिमिरे, नारायणदेव पँगेनी, लालकृष्ण लामिछाने, मीन रानाभाट, कृष्ण पौडेल, शङ्कर लामिछाने आदरणीय गुरुहरु सम्झिरहेको छु । रत्नराज्यले पनि हाल काँचुली फेरेको छ । गौरव लाग्छ । सँगै पढेका सहपाठी साथीहरूसँग यदाकदा भेट भइरहन्छ र हामी तीन दशकअगाडिका ती दिनहरु फर्काउन नसके पनि नोस्टाल्जिक बन्छौँ, एकआपसमा सद्भाव र मित्रता महसुस गर्छौँ ।
पोहोर सालको गुरु पूर्णिमाका दिनमा केही साथीहरू मिलेर शिव घिमिरे सरलाई भेट्न गयौँ । मिर्गौलाको डायलासिस गरिरहनुभएको उहाँलाई भेट्दा पुराना दिनहरु पुन:स्मरण भएको थियो । उस्तै मिठो मुस्कान, मिठो बोली । तर मिठो आवाजमा नमिठो लाग्ने कुरा सुनियो `अँ, अरु त ठिकै छ । हप्तापिच्छे अस्पताल जानेआउने ।´ शान्त आवाजमा भनिरहनुभएको थियो ।
ज्यादै शालीन, भद्र, शान्त शिव सर हामीमध्ये धेरैका आदर्श हुनुहुन्छ । अङ्ग्रेजी र अर्थशास्त्र दुबै विषय उत्तिकै कुशलतापूर्वक पढाउने उहाँका अक्षर कालोपाटीमा बहुत सुन्दर हुन्थे । कहिल्यै कुनै विद्यार्थीलाई तँ भनेको सुनिएन । नमस्ते भन्न हामी लालायित हुन्थ्यौँ ।
नमस्कार, कता, के छ ? भनेर साना केटाकेटीलाई पनि उत्तिकै महत्त्व दिएर बोल्ने उहाँको स्वभावको प्रभाव कतिसम्म परेको छ भने कहिलेकाहीँ आफ्ना विद्यार्थीसँग पनि त्यस्तै कोमल व्यवहार गरूँ जस्तो लाग्छ । अनि एक दिन कोमलताको अभ्यास गर्यो । भोलिपल्ट आफनै मौलिक रुखो स्वभाव आइहाल्दो रहेछ ।
एसएलसीपछि वीरेन्द्र क्याम्पसको विकल्प थिएन । गुलाफी खद्दरको सारी लगाएर भिड बसमा ठेलमठेल गर्दै दैनिक तीस किलोमीटर आउजाउ गर्ने दिदीहरु नै हाम्रा आदर्श हुन्थे । कहिले एसएलसी गर्नु र कहिले गुलाफी खद्दरको सारी लगाएर वीरेन्द्र क्याम्पस जानु जस्तो हतार लाग्थ्यो । मानविकी सङ्कायमा पढ्नेहरूको घुइँचो हुन्थ्यो । २०४७ सालमा A, B , ……..l सेक्सनसम्म विद्यार्थी हुन्थे । बिहानी र दिवा सत्रमा तीन सिफ्ट पढाइ हुन्थ्यो । कठै ! अहिले वीरेन्द्र क्याम्पस आफ्ना ती बैंसालु दिनहरु सम्झेर भावविभोर हुँदो हो ।
पढाइ भनेको एसएलसीपछि आइए, बिए र एमए मात्रै । हुन त कानुन, शिक्षा, विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, नर्सिङ, एमबिबिएस पनि हुँदा हुन् तर ज्यादै कम । छानिएकाहरु मात्र त्यस क्षेत्रमा जान्थे नत्र औसत विद्यार्थी भने मेजर म्याथ, इङलिस, नेपाली, अर्थशास्त्र, भूगोल, संस्कृति, राजनीतिशास्त्र लिएर आर्ट्सतिरै आउँथे ।
आइएपछिका माथिल्ला कक्षामा गुरुको सम्मुख रहेर औपचारिक कक्षा लिने अवसर जुरेन । कलिलो उमेरमै आफैं विद्यार्थीका अगाडि गुरु बन्न पुगियो । आफैंसरहको शिक्षक देख्दा विद्यार्थीले नटेर्लान् भनेर उन्नाइस बर्से उमेरमै अट्तिस बर्से अभिनय पनि गर्नुपर्यो । अहिले बरु उमेर अलि कम देखियोस् जस्तो लाग्छ । कति विसङ्गत जीवन ।
आज गुरुपूर्णिमा, जीवनको पाठशालामा गुरु बन्नुभन्दा शिष्य बन्नु नै रमाइलो हुन्छ भनिन्छ । कक्षामा उभिएर पढाउनेहरु सबै गुरु बन्न सक्दैनन् । जीवनका हरेक कठिन परिस्थितिमा मार्गदर्शन गर्न सक्ने क्षमता भएका व्यक्ति मात्र गुरु हुन् । यस अर्थमा पारिवारिक अग्रज, कठिन परिस्थितिमा निस्वार्थ भावले सकारात्मक सुझाव सुझाउने हितचिन्तक, पढाउने केही शिक्षकलाई गुरु मान्न सकिन्छ । औपचारिक रूपमा कक्षामा पढ्नु पढाउनु मात्र शिक्षा होइन, त्यस्तै औपचारिक र वैतनिक शिक्षक मात्र गुरु होइनन् । यतिका वर्ष यो क्षेत्रमा बिताएर पनि म तिम्रो गुरु हुँ भनी ठोकुवा गर्न सक्दिनँ म । गुरु र शिष्य दुबैमा पात्रता चाहिन्छ भन्छ हाम्रो पूर्वीय दर्शनले । अन्त्यमा, आज यो पावन अवसरमा सम्पूर्ण गुरुहरुमा हृदयत: नमन ।