मकवानपुर, ६ साउन ।
मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौंडामा विमाेचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ गजल यात्रामा घिमिरेद्वारा लिखित गजलसङ्ग्रह विमोचन गरिएको हो ।
मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका अग्रज शिक्षासेवी तथा अग्रज सञ्चार उद्यमी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले पुस्तककाे लाेकार्पण गरेका हुन् । गजल मञ्च मकवानपुरले प्रकाशन गरेकाे सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए ।
समीक्षक घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाकाे उमेरका लेखकले युवा जस्तै जोश जाँगरसहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पाैड्याललगायतले घिमिरेद्वारा लिखित सङ्ग्रहबाट गजल वाचन गरेका थिए ।
२०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि `फूलका कुरा जूनका कुरा´ गीतसङ्ग्रह २०७१ र `माटोको मोह´ कवितासङ्ग्रह २०८० प्रकाशित छन् । गजलसङ्ग्रहकाे रुपमा घिमिरेकाे पहिलाे कृति हाे । उनकाे सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । साहित्यकार देवराज तिवारीले घिमिरेले सङ्ग्रहमा भूमिका लेखेका छन् ।
२१५ ओैं गजल यात्राका सन्दर्भमा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी बर्ताैलालगायतले गजल वाचन गरेका थिए ।
गजलकाे उन्नयन र प्रबर्द्धनमा काम गरिरहेकाे गजल मञ्च मकवानपुरले हरेक महिना गजल यात्राकाे आयाेजना गर्दै आइरहेकाे छ । गजल उत्सव तथा महाेत्सवका साथै विद्यालय तहमा गजल प्रशिक्षणकाे कार्यक्रमसमेत गर्दै आएकाे मञ्चका अध्यक्ष समर्पणले जानकारी दिए ।