भरतपुर, ५ साउन ।
नेपाली लेखक सङ्घ चितवनले ४२ औँ वीपी स्मृति दिवसका अवसरमा साहित्य विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनसँगको सहकार्यमा शनिबार बिहान होटल शुभम् भरतपुरमा गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरेले नेपाली राजनीति र साहित्यमा वीपीको योगदान उत्कृष्ट रहेको बताए । `नेपाली राजनीतिमा शीर्ष व्यक्तित्वका रूपमा वीपीलाई सम्झिने गरिएको छ । साहित्य क्षेत्रमा पनि उहाँ विशिष्ट रूपमा हुनुहुन्छ´, घिमिरेले भने । कार्यक्रममा घिमिरेले कविता पनि प्रस्तुत गरेका थिए ।
रचनावाचन कार्यक्रममा कविहरू सुरेन्द्र अस्तफल, प्रकाश चापागाईं, कमल अर्याल, रामकृष्ण अनायास, विपिन पाठक, नवराज ढुंगाना, पदम अर्याल, धनराज गिरी, सामना पहाड, सिम्रन क्षेत्री, प्रसंशा पराजुली, मित्रराज घिमिरे, मुक्तिनाथ घिमिरे, दयानिधि अर्याल, गुरुप्रसाद न्याैपाने सुशील, नीलकण्ठ ढुङ्गाना, दीगन्तराज पन्त, दीपकराज घिमिरे, किशाेर काफ्लेलगायतले रचनावाचन गरेका थिए ।
डाक्टर एकनारायण पौड्यालले नेपाली राजनीति र साहित्यमा वीपीको योगदानको विषेश चर्चा गरेका थिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको पौड्यालले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका अध्यक्ष राजेश्वर खनालले नेपाली राजनीतिमा वीपी सबैका आदर्श भएको बताए ।
विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।
विसं २०१५ सालको आमनिर्वाचनपश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।
भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।
विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।
विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदमपश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।
साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन्, हिटलर र यहुदी, बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथासङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मवृतान्त एवम् जीवनीसङ्ग्रह प्रकाशित छन् ।
नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।
नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्माले अध्यक्षता गरेको कार्यक्रमलाई संयोजक गणेश श्रमणले सहजीकरण गरेका थिए ।