भरतपुर, ५ साउन ।
नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले विपीको पालामा गरिब दु:खी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनैतिक परिपाटीमा त्यो हराएको बताएका छन् । मुलुकको विकासको विरोध गरिबी रहेको बताउँदै विपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडि परेको घिमिरेले दावी गरे । विपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो जोतेको किसानको तस्बिर राखेर योजना बनाउन गरेको आग्रहलाई उनलेे प्रष्ट पारेका थिए ।
नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको ३३औँ स्थापना दिवस एवं ४२औँ विपी स्मृति दिवसको अवसर पारेर गरिएको कार्यक्रममा नेता घिमिरेले समाजसेवाको बाटोमा लाग्न नेतालाई आग्रह गरे । ‘योजना बनाउँदा विपीले योजना आयोगका सदस्यलाई भन्नु भएको थियो कि भित्तामा हलो जोतेको किसानको फोटो राख्नुहोस् र त्यसैलाई हेरेर योजना बनाउनुहोस्´, उनले भने- ‘त्यो किन भन्नु भएको हो भने एउटा शहरले भरिएको अर्को गाउँले भरिएको नेपाल छ । गाँउलेको दु:ख हेरेर योजना बनानुहोस् भन्नु भएको हो । देशको अनुहार बदल्न हामीले कमजोरीलाई हेरेर काम गर्नुपर्छ ।’ पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले उनको कार्यकालमा गरिब जनतालाई केन्द्रित गरेर योजना बनाउन लगाउँथे ।
स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३औँ स्थापना दिवस र ४२औँ विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असहाय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष सुरेश अधिकारीले विगतमा पनि सामाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए ।