भरतपुर, ५ साउन ।
स्थापना दिवसका अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कर्स युनियनको ३३औँ स्थापना दिवस र ४२ औँ विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असहाय बालबालिकालाई भोजनको व्यवस्था गरेको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
युनियनका अध्यक्ष सुरेश अधिकारीले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘हामीले मजदुरको आन्दोलन मात्रै होईन, समाजिक सेवाको कामलाई पनि प्राथमिकता दिएका हौँ´, उनले भने- `आफ्ना साथीसँगै समाज परिवर्तनको सन्देश दिन खोजेका हौँ ।’
काँग्रेस नेता गुरुराज घिमिरेले एकताको बलियो सुत्र समाज सेवा मात्रै भएको बताए । असहाय बालबालिकालाई भोजन गराएको कामको प्रसंशा गर्दै उनले समाजसेवा र परोपकारले समाजलाई जोडेको बताए । राजनीति, धर्म र जातले समाजमा द्वन्द्व सिर्जना गरेको उदाहरण दिँदै नेता घिमिरेले समाजसेवाले एकता गराएको दावी गरे । ‘हरेक पक्षले समाजलाई तोडिदिएका छन् । परोपकारी भावले मात्रै हो समाजलाई जोड्ने’, उनले भने- ‘समाजसेवामा केवल परोपकार मात्रै हुन्छ । यसले समाजलाई एक बनाउँछ । मानवतावादको बाटो जसले हिँड्छ उसैले समाज परिवर्तन गर्छ ।’
कार्यक्रममा वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले समाजको परिवर्तनमा हरेक समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने बतए । विपी कोइरालाको समाजवादको सिद्धान्तबाट देशको परिवर्तन संभव रहेको कुराको स्मरण गराउँदै राजनीतिलाई त्यसैमा केन्द्रित गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष एवं नेपाल टेलिकम वर्कर्स युनियनल पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सदस्य हिरामणि अधिकारी, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, आदर्श गृहकी संस्थापक मीना खरेलले शुभकामना राखेका थिए ।