भरतपुर, ५ साउन ।
चितवनका कथाकार राम कुँवरको कथासङ्ग्रह `आमा र लोग्ने´ लोकार्पण गरिएको छ ।
अभिव्यञ्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष एवम् कार्यक्रमका सभापति नवराज ढुंगाना, प्रमुख अतिथि डाक्टर कर्णबहादुर बानियाँ, टिप्पणीकार डिआर पोखरेल, रमेश प्रभात, कल्पना केसी र बुद्धिबहादुर केसीले कृति लोकार्पण गरेका हुन् ।
लोकार्पणसँगै कथासङ्ग्रहको समीक्षात्मक टिप्पणीको कार्यक्रम गरिएको छ । कार्यक्रममा समीक्षक रमेश प्रभात र डिआर पोखरेलले समीक्षात्मक टिप्पणी राखेका थिए । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंले शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तकको टिप्पणी गर्दै समीक्षक रमेश प्रभातले यस सङ्ग्रहमा बीस वटा छोटा खालका कथाहरु भएको र ती कथामा कथानक, चरित्र र परिवेशमा विविधता पाइने बताए । `पहिलो कृति भएका कारण कथाको परिष्कार र परिमार्जनमा केही कमीकमजोरीहरु देखिएका छन्´, उनले भने – `सरल भाषा छ । भाषिक शुद्धता औसत छ भने कथाको बनोट र बुनोटमा सुधार गर्नुपर्ने ठाउँहरु प्रशस्त छन् । कतिपय कथामा आकस्मिक रुपमा आएका घटनाको पूर्व घटनासँग कार्यकारण सम्बन्ध मिलेका छैनन् ।´ यति हुँदाहुँदै पनि औसतमा यो कृति पठनीय भएको प्रभातले बताए ।
शिखा बुक्सबाट प्रकाशित सङ्ग्रहमा २० वटा कथा छन् । पुस्तकको मूल्य ५२५/- छ । कार्यक्रमलाई सामना पहाडले सहजीकरण गरेकी थिइन् ।