देवचुली, ५ असार ।
देवचुली नगरपालिका वडा नम्बर ५ को बन्दिपुर गाउँमा उत्पादित भुुइँकटहर बजारमा आएका छन् । गाउँ यतिबेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भएसँगैै बजारसम्म पुर्याउन स्थानीय किसानहरुलाई भ्याइनभ्याई भएको छ ।
केही वर्षअघि बाटो नहुँदा बन्दिपुरको भुइँकटहर बजारसम्म ल्याउन गाह्रो थियो, स्थानीयले डोकोमा बोकेर दलदले, कदमपुरसम्म ल्याएर बेच्नुपर्ने बाध्यता अहिलेलाई हटेको छ । उत्पादन भएको स्थानमा गाडी लगेर भुइँकटहर बिक्रीलाई लोड गर्दै गरेका तुलबहादुर फाल मगर विगत २२ वर्षदेखि भुइँकटहर खेती गर्दै आएका छन् । करिब ३ हेक्टर क्षेत्रफलमा भुइँकटहर लगाएका उनले यस वर्ष १५ दिनमा ५ हजार गोटा भुइँकटहर बिक्री गरिसकेका छन् । अझै ५/६ हजार गोटा भुइँकटहर बिक्री गर्ने उनले बताए ।
किर्तिपुर हुँदै बन्दिपुर आउने बाटो कालोपत्र भएपछि दलदले, कावासोती हुँदै बुटवल भैरहवासम्म गाडीमा भुइँकटहर बिक्री गर्न सहज भएको उनले बताए । `पहिला भरियालाई ज्याला दिएर बजारमा लगि भुइँकटहर बेच्नुपर्ने बाध्यता थियो, सिजनमा १ लाख ६० हजार ज्याला दिनुपर्थ्यो, अहिले बाटोले गर्दा आफ्नै बारीमा गाडी ल्याएर भुइँकटहर बेच्न लैजान सहज भएको छ ´ उनले भने ।
गत वर्ष खर्च कटाएर २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका तुलबहादुरले यस वर्ष ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने बताए । `पाखा बारीमा लगाएको भुइँकटहर वर्षमा एकपटक गोडमेल गर्दै आएका छौँ, अन्य खेतीको काम र पशुपालनको काममा पनि लाग्नुपर्ने भएकाले धेरै समय दिन सकेका छैनौं, केही बढी मेहनत गरे उत्पादन बढाउन सकिन्छ´ उनले भने । `प्रतिगोटा ५५ देखि १०० रुपैयाँसम्म होलसेलमा बिक्री हुने गरेको भुइँकटहर खरिदका लागि गाउँमा नै व्यापारीहरु आउने गरेका छन्´ उनले बताए । गाउँमा सबै एकजुट हुन सके भुइँकटहरको राम्रो मूल्य पाउन सकिने कुरामा उनले जोड दिए ।
तीस वर्षअघि देखि भुइँकटहर खेती गर्दै आएका होमबहादुर डिसुवामगर भुइँकटहर टिप्नमा व्यस्त छन् । करिब १ हेक्टरमा खेती गरेका उनले ५०० गोटा भुइँकटहर बिक्री गरिसकेका छन् । यस वर्ष ५० देखि ६० हजार रुपैयाँको भुइँकटहर बिक्री हुने उनको अनुमान छ । `बाटो कालोपत्र भएपछि बजारमा भुइँकटहर पुर्याउन सहज त भएको छ तर किर्तिपुरको खोलामा पुल भए अझै राम्रो हुन्थ्यो´ उनले भने – `१/२ घण्टा पानी पर्यो भने खोलामा बाढी आएर बजारसम्म पुग्न गाह्रो हुन्छ ।´ गाडीले १ डोको भुइँकटहर बजारसम्म पुर्याएको १ सय ५० रुपैयाँ भाडा लिने गरेको उनले जानकारी दिए । देवचुली नगरपालिका तथा कृषि ज्ञान केन्द्र नवलपुरबाट भुइँकटहर खेतीको अवलोकन गर्न आउँदा आफूहरुले भुइँकटहर टिप्न र गोडमेल गर्नका लागि पन्जा, जुत्ता, ड्रेसलगायतको आवश्यक सामग्रीको माग गरेको र सो सामानहरु उपलब्ध गराएमा काम गर्नसहज हुने उनले बताए ।
तुलबहादुर र होमबहादुर मात्र नभई बन्दिपुरका करिब ४० जना किसानहरु भुइँकटहर खेतीमा लागेका छन् । दुई सिजन उत्पादन हुने भुइँकटहरलाई गत वर्ष करिब ५० लाख रुपैयाँ बिक्री गरेका छन् भने यस वर्ष सो भन्दा बढीको बिक्री हुने स्थानीयले बताए ।
देवचुली नगरपालिकाको बन्दिपुर गाउँलाई भुइकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी यस वर्षका लागि विभिन्न कार्यक्रमहरु योजना गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । बन्दिपुरको भुइँकटहरको बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य संघसंस्थाहरुसँग मिलेर किसानहरुलाई भुइँकटहर खेतीतर्फ आकर्षित गर्ने गरी काम गरिने उनले बताए ।