भरतपुर, ४ साउन ।
त्रिशूलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपालतर्फ ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
गत असार २८ गते भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।
सशस्त्र प्रहरीका अनुसार २४ मध्ये ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।