मकवानपुर, २ साउन ।
बागमती प्रदेशका दुई जिल्लामा विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई तथा सिन्धुलीमा एक गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमानमा एक पुरुषको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–७ घर भई हाल भिमानमा कमलामाई पशुपंक्षी कृषि फार्ममा काम गरी बस्ने २२ वर्षीय बाबुलाल योन्जन सोमबार राति फार्मको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । योन्जनलाई उनकी श्रीमती श्रीमाया गोलेले देखेर उठाउन खोज्दा गोलेलाई करेन्टको झड्का महसुश भएको भनि प्रहरीमा खबर गरेका थिए । त्यस पश्चात प्रहरी टोली खटेर योन्जनलाई उपचारको लागि सिन्धुली अस्पतालमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेकाे प्रदेश प्रहरीले जनाएकाे छ । मृत्युको कारण खुलिनसकेको र थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार काभ्रेको पनौती नगरपालिका–५ पुन्यमातामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साेमबार बिहान बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र ३–०२–००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट ६ मिटर तल खोलामा खस्दा चालक काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय दीपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सोमबार काभ्रेकै पनौती नगरपालिका–६ मा एक पुरुष मृत फेला परेका छन् । प्रदेश प्रहरीका अनुसार गोरथनाथ सामुदायिक वनको छेउमा रहेको प्रतिक्षालयमा ५२ वर्षीय पुरुष मृत अवस्थामा भेटिएको हो । शवमा बाहिरी चोटपटक नदेखिएको तथा मुचुल्का पश्चात पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।