मकवानपुर, २ साउन ।
मकवानपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश कुमार बर्तौला नेकपा एमालेकाे तर्फबाट मुख्य सचेतकमा नियुक्त भएका छन् । बर्तौला बुधबार सत्तारुढ दलको मुख्य सचेतक नियुक्त भएका हुन् ।
एमालेबाट मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित बर्तौलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनित गरेका हुन् । संसदीय दलका नेता समेत रहेका ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ तथा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार बर्तौलालाई मुख्य सचेतकमा नियुक्त गरेका थिए ।
बर्तौलालाई प्रतिनिधि सभा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुने गरी मनोनयन गरेको हो । सांसद बर्तौलाले पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ ले निर्धारण गरे अनुसारको सेवा सुविधा पाउने छन् । मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने तथा सत्तारुढ दलकाे समेत प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।
बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए । एमालेका तत्कालिन प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।