गैंडाकोट, १ साउन ।
आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ को अन्तर्क्रिया गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा मंगलबार आयोजित कार्यक्रममा गायत्री श्रेष्ठ र डाक्टर हरिहर पौडेलले समीक्षात्मक टिप्पणी गरे ।
श्रेष्ठले अधिकारीका कथामा नयाँ स्वाद र शैलीको प्रयोग भएको बताइन् । `पंचमका कथामा मेहनत र पाखुरीको मूल्यको चर्चा छ । बाध्यतावश बिदेसीएर रगत पसिना बगाएका नेपालीका भोगाइ छन्´ श्रेष्ठले भनिन् – `पंचमले कथामार्फत नेपाली भाषा र जनजीवन सम्झनु भएको छ । गुन्द्रुक र मस्यौरा पनि सम्झनु भएको छ । दशैँ, तिहार, तीज र रोदीघर पनि सम्झनु भएको छ ।´
बाध्यताले परदेसिन परेपछि ऋण खोजेरै जहाज चढेका प्रसङ्गलाई कथाकारले कथामा समेटेको पनि श्रेष्ठले बताइन् । `ऋण काढेर परदेश पुगेका कतिले आर्थिक उन्नति गर्छन् तर कतिपयका अवस्था त्यहाँ पुगेर पनि सहज हुन्नन् ।´ श्रेष्ठले भनिन् – `पसिना बगाउँदा बगाउँदै कतिपयले ज्यान गुमाएर बाकसमा स्वदेश फर्किन बाध्य छन् । पंचमका कथा साँच्चिकै मार्मिक छन् ।´
अर्का वक्ता डाक्टर हरिहर पौडेलले यो कथासङ्ग्रहमा प्रवासी नेपालीका संवेदना समेटिएको बताए । सङ्ग्रहका १४ वटा कथा युरोपको सेरोफेरोमा रहेर लेखिएको उनले बताए । `सङ्ग्रहका कतिपय कथाहरूमा स्वदेशको याद, युवावस्थाको पुरानो सम्झना र परदेशमा आएर बुनिएको सपना सबै छन्´, पौडेलले भने । साहित्य र पत्रकारिताको भाषा फरक हुने बताउँदै कथामा घटना र विवरण सँगसँगै पात्रहरूको मनोदशा उतार्न सके कथा पठनीय हुने पौडेलले बताए ।
चितवन घर भएका कथाकार अधिकारी नेपालमा लामो समय पत्रकारिता गरेर बिदेश गएका हुन् । उनी १४ वर्षदेखि बेल्जियममा छन् । युरोपको नेपाली जनजीवन बुझेका उनले प्रवास बसाइँ कै क्रममा दुई वटा कृति ल्याउन सफल भएका छन् । कथाकार अधिकारीलाई समीक्षक पौडेलले बेल्जियमबाट प्रकाशित केही राम्रा कृतिलाई अनुवाद गरी नेपाली पाठक समक्ष ल्याउन अनुरोध गरे ।
प्रमुख अतिथि गोविन्दराज विनोदीले प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा लागिरहेकोमा कथाकार अधिकारीलाई धन्यवाद दिए । कार्यक्रमका सभापति रमेश प्रभातले पंचमको कथा लेखन राम्रो भएको प्रतिक्रिया दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार वसन्त पराजुलीले कथाकार अधिकारीको लेखन यात्राको चर्चा गरेका थिए ।
अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, नेताकी छोरीको गुन्डासँगको प्रेमप्रसंग ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपिसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस सङ्ग्रहमा समेटिएका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ । यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) उपन्यास प्रकाशित छ ।