मकवानपुर, १ साउन ।
नेपाली भाषाशिक्षक समिति, मकवानपुरले ३६ विद्यार्थी र १६ शिक्षकहरूलाई सम्मान गरेको छ ।
सोमबार २०८० को एसइइमा नेपाली विषयमा सैद्धान्तिकतर्फ ए प्लस (४ जिपीए) प्राप्त गर्ने विद्यार्थीहरू सम्मानित भएका हुन् । सम्मानित विद्यार्थीहरूलाई अध्यापन गराउनुहुने शिक्षकहरू राम-सावित्री सम्मान २०८० द्वारा सम्मानित भए ।
सम्मान कार्यक्रमका क्रममा बालजागृति इङ्लिस सेकेण्डरी स्कुलका सबैभन्दा बढी १० विद्यार्थी सम्मानित भएका छन् । कार्यक्रममा सोलिड्यारिटी इन्टरनेशनल स्कुलका ४, ब्रह्मदिक एकेडेमीका ४, आधुनिक मावि, प्रगति मावि, जिएस निकेतन मावि, नवोदय शिशु सदन र सत्यम जेभियर्सका २/२ विद्यार्थीहरू सम्मानित भएका हुन् । यस्तै भुटनदेवी मावि, सिद्धार्थ मावि, वंशगोपाल मावि, भानु मावि, हेटौँडा एकेडेमी, फेमकोल एकेडेमी, ज्ञानोदय बालबाटिका आवासीय माविका १/१ विद्यार्थी सम्मानित भएका हुन् ।
कार्यक्रममा विद्यार्थीका साथसाथै अध्यापन गराउने शिक्षकहरू समेत सम्मानित भएका छन् । भाषाशिक्षक समितिका अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति, मकवानपुर प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्य रहेको थियो । शिक्षक तथा व्याकरणकार ध्रुव भुजेलद्वारा सम्मान व्यवस्थापन गरिएको थियो भने समितिका सचिव ज्योति न्यौपानेले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।