मकवानपुर, ३१ असार ।
हेटौंडा उपमहानगरपालिका–४ मा डेंगु रोगको जोखिम उच्च रहेकाे देखिएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाले वडा नम्बर ४ मा गरेको एकीकृत भेक्टर सर्भिलेन्सअन्तर्गत डेंगु भेक्टर सर्भेको नतिजाअनुसार यो वडा डेंगु रोगको उच्च जोखिममा रहेको हो ।
निर्देशनालयले जेठ ३० गतेदेखि असार ४ गतेसम्म गरेको सर्भेको नतिजा आइतबार सार्वजनिक गरेको थियो । निर्देशनालयले एकसय ६ वटा घर तथा सार्वजनिक स्थानमा सर्भे गरेको थियो । वडाको विभिन्न स्थान तथा घरमा लार्भा र प्युपाको खोजी गर्दा एक सय ६ वटा घरमध्ये ७७ वटा घरमा लार्भा र प्युपा पाइएको थियो । यस्तै, ३ सय ५१ वटा पानी भरिएका कन्टेनर र भाँडाकुँडाहरुमध्ये एक सय ६१ वटा कन्टेनरमा लार्भा र प्युपा पाइएको निर्देशनालयले जनाएकाे छ ।
निर्देशनालयका अनुसार वडाबाट ३ सय १८ वटा प्युपा संकलन भएका छन् । सर्भेको क्रममा प्युपा र लार्भाबाट उत्पन्न वयस्क एडिज लामखुट्टेको संख्या ४ सय ८ रहेको छ । निर्देशनालयले हेटौंडा–४ मा रहेका टायरबाट ९० दशमलब ९ प्रतिशत लार्भा र प्युपा संकलन गरेको छ । वडामा एडिस लामखुट्टेको लार्भा र प्युपा सूचकाङ्क न्यूनतम सीमाभन्दा बढी रहेकाले डेंगु रोग सङ्क्रमणको उच्च जोखिम रहेको हाे ।
हेटौंडा उपमहानगरपालिकाले डेंगु रोकथामका लागि एक लाख रुपैयाँ खर्च गरिएकाे जनाभएकाे छ । हेटौंडा–४ उच्च जाेखिमा देखिए पनि हेटौंडाका १९ वटै वडामा डेंगुको जोखिम रहने देखिएको छ ।