मकवानपुर, ३१ असार ।
बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत लिन प्रदेश संसद् सचिवालयमा पत्र पठाएका सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारीमा प्रदेश सभा सचिवालयकाे रहेकाे छ ।
नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजीनामा दिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेका थिए । एमाले सरकारबाट बाहिरिए पछि जम्कट्टेलकाे मन्त्रिमण्डलमाहाल नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् ।
मुख्यमन्त्री जम्कट्टेलको सत्ता यात्रा
मुख्यमन्त्री जम्कट्टेल २०७४ सालकाे प्रदेशकाे निर्वाचनपछिका अधिकांश समय सत्ताको केन्द्रमा रहँदै आए । प्रदेश सरकार गठनदेखि हालसम्म ६ वर्ष उनी सत्तामा रहे । २०७४ सालमा २३ प्रदेश सभा सदस्य हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०७९ सालकाे निर्वाचनबाट २१ प्रदेश सभा सदस्यमा झर्दा समेत उत्तिकै सशक्त रहे । प्रदेशकाे २ कार्यकालको संसदमा १० महिनामात्र माओवादी केन्द्र प्रतिपक्षमा रहेकाे छ ।
१० महिनाकाे प्रतिपक्ष भूमिका बाहेक अधिकांश समय उनी सरकारको नेतृत्व र मन्त्रीको भूमिकामा छन् ।बहालवाला मन्त्री भइरहेका बखत २०७९ को निर्वाचनपछि गठन भएकाे प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । उनले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे संघीय संसदमा निर्वाचित भएपछि २०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका थिए ।
प्रदेश सरकार गठन हुँदा प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट सत्ता यात्रा सुरु गरेका जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री हुँदै मुख्यमन्त्रीसम्मकाे जिम्मेवारीमा रहेर काम गरे । १७ महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका उनले यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री ३ वर्ष र आर्थिक मामिला तथा योजना मन्त्री १४ महिना रहे ।
माओवादी प्रतिपक्षी भूमिका
६ वर्षदेखि सत्तामा रहेको माओवादी केन्द्र साउन ६ पछि प्रतिपक्षको भूमिकामा रहने निश्चित छ । केन्द्रीय तहमा सत्ता परिवर्तनसँगै माओवादी केन्द्र प्रतिपक्षमा रहेकाे अवस्थामा बागमतीमा समेत उ प्रतिपक्षमा पुग्ने निश्चित भएको हो ।
जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि सरकार टिकाउन आगामी साउन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाेले उनले साउन ६ गते विश्वासकाे मत लिदै छन् । तर प्रदेशकाे अंक गणित अनुसार उनकाे पक्षमा बहुमत नपुग्ने परिस्थिति छ ।
यसअघि ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यसपटक केन्द्रीय सत्ता समिकरणका कारण सङ्कट छन् । प्रदेश सभाकाे अङ्कगणित अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ । हाल मुख्यमन्त्री जम्कट्टेलसँग २९ सांसदको समर्थन छ । उनले विश्वासकाे मत प्राप्त गर्न थप २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा पहिलाे र दोस्राे दल रहेकाे कांग्रेस–एमालेको गठबन्धन रहेकाेले सरकारमा रहिरहन सङ्ख्या जुटाउन असम्भव छ ।
प्रदेश सभाकाे अंक गणित
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभाकाे ठुलो दल कांग्रेसकाे ३७ र दोस्राे ठुलाे दल एमालेकाे २७ सांसद छन् । माओवादी केन्द्रकाे २१ सांसद रहँदा, राप्रपाकाे १३, एकीकृत समाजवादीकाे ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।