भरतपुर, ३१ असार ।
लाउतारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक कोपा अमेरिका जितेको छ । ब्राजिलले यो उपाधि नौ पटक जित्दा पाराग्वे र चिलीले दुई/दुई पटक जितेका छन् ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो । यो समयमा पनि दुवै टोलीबाट गोल नभए खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिने तय थियो ।
कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो । तर, फाइनलमा भने त्यो नियम लागु हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो ।
तर, मार्टिनेजले ११२औं मिनेटम गोल गरे । यो नै खेलमा निर्णायक बन्यो । जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो । उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन् । सेल्सो खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए ।