भरतपुर, ३० असार ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवनदेखि पोखरासम्मका व्यावसायिक प्रतिष्ठानहरुले छुट दिने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई पोखरा लेकसाइडस्थित होटल बाराहीले छुट दिने भएको छ । उक्त छुट सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर संघमा आबद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको बताए । उनले अन्य संघ संस्था तथा व्यावसायिक प्रतिष्ठानहरुसँग पनि सदस्यहरुलाई छुट सेवा उपलब्ध गराउन पहल गरिरहेकोे बताए ।
होटल बाराहीका सेल्स म्यानेजर रसना शाक्यले उद्योग वाणिज्य संघ–चितवनमा आबद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताइन् ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ । संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराए । उद्योग वाणिज्य संघ–चितवनका सदस्यहरूले होटल बाराही पोखरामा २५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् ।
यसपूर्व नै सम्झौतापत्रमा हस्तक्षर भई छुट उपलब्ध गराइरहेका व्यावसायिक प्रतिष्ठानहरु एन. पि. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, टिचिङ हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि. ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराईचुली, होटल रोयल सेन्चुरी, गन्तव्य रिसोर्ट (पोखरा), मनकामना दर्शन प्रा. लि, र मौलाकाली केवलकार लि. रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।