भरतपुर, ३० असार ।
भरतपुर अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले समुदायबाट पनि रगत संकलन थालेको छ । अस्पतालकै एकाइको रूपमा स्थापित रक्तसञ्चार केन्द्रले पहिलोपल्ट समुदायमा गरेको रक्तदानबाट ५५ एकाइ रगत संकलन गरेको छ ।
भरतपुर–१०, कटहरचोकमा असार २६ गते बेस्ट ब्रेन्स एजुकेसनले गरेको रक्तदान कार्यक्रमबाट समुदायमा पनि रक्त संकलन थालिएको केन्द्रका प्रमुख विष्णुप्रसाद बास्तोलाले जानकारी दिए ।
भरतपुर अस्पतालले गत जेठ १ गते ब्लड बैंक शुभारम्भ गरेको हो ।
समुदायमा कार्यक्रम आयोजना गरिए अस्पतालका स्रोतसाधन प्रयोग गरेर रगत संकलनका लागि आउन तयार रहेको उनले बताए । “धेरै बिरामीको चाप र रगतको माग भइरहने भएकोले समुदायबाट व्यापक रक्तदान हुन जरुरी छ”, बास्तोलाले भने– “यदि कसैले कार्यक्रम आयोजना गरे हामी आउन तयार छौँ ।” ती कार्यक्रमहरूमा प्राविधिक सहयोगसँगै आवश्यक परे खाजाको व्यवस्थापनसमेत अस्पतालले गर्ने उनले बताए ।
समुदायमा जानुअघि अस्पतालभित्रै रक्त संकलन गरिएका थिए । केन्द्रले असार २९ गतेसम्म ३ सय १६ एकाइ रगत संकलन गरेको छ । त्यसमध्ये २ सय ६१ एकाइ रगत दाताले अस्पतालमै गएर दान गरेका थिए ।
भरतपुर अस्पतालमा स्त्री तथा प्रसुती वार्डमा सबैभन्दा बढी रगत खपत भएको उनले जानकारी दिए । बाहिरी अस्पतालहरूमा पनि रगत लगिएको उनले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले ठूला अस्पतालहरुको आफ्नै ब्लड बैंक हुनुपर्ने न्यूनतम सेवा मापदण्डअनुसार ब्लड बैंक सञ्चालन गरिएको बताए । उनले ब्लड बैंकको गुणस्तर र क्षमता वृद्धि गर्दै लैजाने र पर्याप्त रगत संकलन र भण्डारण गरिने बताए ।