भरतपुर, ३० असार ।
गैंडाकोट नगरपालिका वडा नम्बर- ७ गैरीस्थित नारायणी नदी किनार र भरतपुर महानगरपालिका वडा नम्बर- २८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् । उनी कलंकीमा व्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
यस्तै गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् । भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ । ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् ।
यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।
वेपत्ता भएकाहरुमध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको शव भेटिएको हो ।