भरतपुर, ३० असार ।
विश्वकपपछि सबैभन्दा ठूलो मानिने युरोकप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । इंग्ल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको हो भने स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो ।
अघिल्लोपटक इंग्ल्यान्ड फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको थियो । यो फाइनलमा जित हात पार्दै इंग्ल्यान्ड ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने धुनमा छ ।
स्पेन पनि १२ वर्षअघिको सनसनी फर्काउँदै चौथोपटक उपाधि आफ्नो नाममा लेखाउने दाउमा हुनेछ । स्पेनले सन् २००८ र २०१२ मा युरोकप जितेको थियो भने २०१० मा विश्वकप ट्रफी उचालेको थियो ।
सन् १९६६ मा घरेलु मैदानमा विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले कुनै ठूलो उपाधि हात पार्न सकेको छैन । यसपटक घरेलु मैदानबाहिर हुने फाइनल इंग्ल्यान्डका लागि सहज हुनेछैन । किनकि स्पेन जारी प्रतियोगितामा अपराजित मात्रै छैन, टिमका रुपमा प्रभावशाली प्रदर्शन गरिरहेको छ ।
स्पेन इंग्ल्यान्डलाई हराउँदै शतप्रतिशत जितसहित युरोकप जित्ने कीर्तिमान बनाउन चाहन्छ । स्पेनले जारी प्रतियोगितामा उपाधिका दाबेदार मानिएका इटाली, आयोजक जर्मनी, विश्वकपको उपविजेता रहेको फ्रान्स तथा तेस्रो भएको क्रोएसियालाई हराइसकेको छ ।
त्यसैले इंग्ल्यान्डविरुद्ध मैदान उत्रिदा उच्च मनोबल हुनेछ । स्पेनी टोली मैदान उत्रिदा दुई प्रमुख युवा खेलाडी लेमिन यामल र निको विलियम्ससँगै डेनी ओल्मोमा सबैको नजर हुनेछ । यामल र निकोसँगै ओल्मोले दुवै विङ्गबाट गर्ने आक्रमण विपक्षी टिमका लागि सहज हुनेछैन ।
इंग्ल्यान्डको टिम सधैं सशक्त हुने गर्छ । जर्मन बुन्डेस लिगामा ४५ खेलमा ४४ गोल गरेका ह्यारी केन देशका लागि पहिलो उपाधि जित्न चाहन्छन् । रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताएका युड बेलिङ्घम अर्का प्रमुख हतियार हुन् । यस्तै फिल फोडेन, डेक्लान राइस, बुकायो साकाजस्ता खेलाडीलाई रोक्न स्पेनी रक्षकहरुलाई सहज हुनेछैन ।
इंग्ल्यान्ड र स्पेन सन् २०१८पछि पहिलोपटक भिड्न लागेका हुन् । सन् १९२९ मा पहिलो खेल भएयता दुई टोलीबीच २७ खेल भएका छन् । जसमध्ये इंग्ल्यान्डले १४ खेलमा जित हात पारेको छ भने स्पेनले १० खेल जितेको छ ।
तर पछिल्ला ९ खेलमध्ये स्पेन ५ खेलमा विजयी भएको छ । रोचक कुरा के छ भने स्पेनले अहिलेसम्म इंग्ल्यान्डलाई युरोकपमा हराउन सकेको छैन । स्पेन त्यसलाई ब्रेक गर्दै इतिहास लेखाउन चाहन्छ ।