भरतपुर, २९ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर- ४ धर्मचोकस्थित ज्ञानज्योति पुस्तकालयले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा छन्द कवितावाचन गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीसहित १४ जनाले कवितावाचन गरेका थिए । केहीले भानुभक्तकै कविता सुनाएका थिए भने केहीले आफ्नै छन्द रचना सुनाएका थिए । नेपाली साहित्य र नेपाली इतिहासलाई जीवन्त तुल्याउन र नयाँ पुस्तामाझ जानकारी राखिराख्नको लागि पनि पुस्तकालयले कार्यक्रम गरेर भानु जयन्ती मनाएको पुस्तकालयका अध्यक्ष गोविन्दराज खरेलले जानकारी दिए ।
कार्यक्रममा लक्ष्मी वैकुण्ठनाथ मन्दिर लङ्कूका पीठाधीश स्वामी श्री १००८ जगन्नाथाचार्यले पुस्तकालयमार्फत समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्ने हुँदा पुस्तकालयको गतिविधि समाज केन्द्रित हुनुपर्ने बताए । ‘पुस्तकालय भनेपछि हरेक स्रष्टाका कृति आवश्यक पर्छ,’ उनले भने, ‘जुन हरेक वर्ग र उमेर समूहका व्यक्तिलाई पनि पढ्न मिलोस् ।’
पुस्तकालयका निवर्तमान अध्यक्ष कलाधर अर्यालले साहित्य सिर्जनाले उत्पीडनमा परेका समुदाय र व्यक्तिको उद्धार भएको उदाहरण दिँदै स्वअध्ययनबाट समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने बताए । पुस्तकालयको व्यवस्थान राम्रो भएको समाज चेतनशील हुने हुँदा समाज निर्माणको लागि पनि पुस्तकालयको प्रमुख दायित्व हुने उनको भनाइ छ ।
कार्यक्रम संयोजक डाक्टर मनोज कँडेलले भने पुस्तकालय समुदायकै हितको लागि स्थापना भएको हुँदा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । ‘यो पुस्तकालय सबैको साझा सम्पत्ति हो । त्यसकारण हाम्रो भूमिका जति छ, यहाँहरूको पनि उत्तिकै छ,’ उनले भने । पुस्तकालय सिर्जना गर्ने चौतारी भएको हुँदा यही पुस्तकालयमार्फत साहित्य सिर्जना गर्न सकिने उनले बताए ।
नयाँ कार्यसमिति आएपछि आयोजना गरेको पाहिलो साहित्यिक कार्यक्रममा सहभागी भई छन्द कवितावाचन गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।