भरतपुर, २९ असार ।
नेपाली भाषाका प्रथम कवि आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरले संयुक्तरूपमा स्रस्टा सम्मान तथा विविध कार्यक्रम आयोजना गरेका छन् ।
शनिबार नारायणी कला मन्दिरमा आयोजना गरिएको उक्त कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ । चिसाप प्रतिभा पुरस्कार – २०८१ बाट धनराज गिरी, चिसाप वामदेव लक्ष्मी साहित्य पुरस्कार – २०८० बाट `कालपात्र´ उपन्यासका लेखक पुरुषोत्तम दाहाल र चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार – २०८० बाट `आकाश ओढेको डोप्ल्पो´ नियात्रासङ्ग्रहका स्रस्टा भवानी खतिवडालाई सम्मान गरिएको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।
प्रमुख अतिथि एवम् गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र विशिष्ट अतिथि एवम् भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले स्रस्टालाई सम्मान गरेका हुन् । पुरस्कारको राशी क्रमशः १५ हजार ४५ रुपैयाँ, ३५ हजार ४५ रुपैयाँ र ५० हजार ४५ रुपैयाँसहित सम्मानपत्र रहेको चितवन साहित्य परिषद्का कोषाध्यक्ष पदम अर्यालले बताए ।
कार्यक्रममा सम्मानित स्रस्टा धनराज गिरी र भवानी खतिवडाका बारेमा गणेश श्रमण र पुरुषोत्तम दाहालका बारेमा श्यामजी अतिथिले व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।
कार्यक्रममा भानु चर्चासँगै रचनावाचन गरिएको थियो । कार्यक्रमलाई शान्ति शर्मा र सरला जोशीले सहजीकरण गरेका थिए ।