मकवानपुर, २८ असार ।
बागमती प्रदेश सरकारले विपतबाट प्रभावित किसानलाई एक करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषि फार्म र कृषकलाई राहत स्वरूप चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड १९ लाख ७३ हजार ४४३ रुपैयाँ वितरण गरेको हो ।
राहतबाट चालु आवमा प्रदेशका ७६ जना किसान लाभान्वित भएका छन् । प्रदेश सरकारले नेपालमा नै पहिलो पटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकूल असर पार्ने प्राकृतिक र गैरप्राकृतिक विपत्बाट प्रभावित किसानलाई राहत रकम प्रदान गर्ने गरी गत आवबाट कार्यक्रम सुरु गरेको थियो । मन्त्रालयका प्रवक्ता सुजन कँडेलले राहत व्यवस्थापन तथा निर्देशन समितिले करिब १७ लाख रुपैयाँ किसानलाई राहत वितरण गर्ने निर्णय गरेको जानकारी दिए । कृषितर्फ चितवनका १६ जना र धादिङका दुई जना गरी १८ जना किसानलाई पाँच लाख ७७ हजार ४२७ रुपैयाँ र पशुपन्छी तथा मत्स्यतर्फ आठ जना किसानलाई ११ लाख आठ हजार ३३४ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्ने निर्णय भएको उनले बताए ।
कृषितर्फ धानमा बाली नलागेको र केरा खेतीलाई हावाहुरीले क्षति पु-याएबापत र पशुपन्छी तथा मत्स्यतर्फ गाई, बङ्गुर, कुखुरालगायतलाई विभिन्न रोग लागेर मरेपछि किसानलाई क्षतिपूर्तिबापत रकम दिने निर्णय भएको थियो । यसअघि असारको दोस्रो साता समितिले २१ लाख ९७ हजार २२२ रुपैयाँ किसानलाई राहत वितरण गर्ने निर्णय समितिले गरेको प्रवक्ता कँडेलले बताए । यस्तै गत आव २०७९/८० बाट सुरु गरेको राहत वितरण कार्यक्रमको बजेट चालु आवमा वृद्धि गरिएको हाे । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषकलाई राहत वितरण गर्ने गरी गत आवमा तीन करोड रुपियाँ विनियोजन गरेको प्रदेश सरकारले चालु आवमा बढाएर पाँच करोड रुपियाँ पुर्याएको थियो ।
मन्त्रालयको चालु आवको कार्यक्रम अनुसार आपत्कालीन/आकस्मिक रोग/क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत राहत वितरण गर्न कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० बनाएर राहत वितरण गरिएको हो । कार्यविधिमा राहत प्राप्त गर्न इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फार्मको निवेदन माग गर्ने व्यवस्था छ । कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत भएको क्षति यकिन हुने स्थानीयको रोहबरमा भएको प्रहरीको घटनास्थल मुचुल्काको सक्कल वा प्रमाणित प्रतिलिपि, क्षतिको मूल्याङ्कन हुने कृषि प्राविधिकको प्रमाणित प्रतिवेदनलगायतका कागजातसहित प्रभावितले निवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएकाे छ ।
कार्यविधिमा मन्त्रालयका मन्त्रीको अध्यक्षतामा मन्त्रालय सचिवलगायतका रहेको राहत व्यवस्थापन तथा निर्देशन समिति रहने व्यवस्था गरिएको छ । समितिले आपत्कालीन तथा आकस्मिक क्षति न्यूनीकरण कार्यक्रममा राहत रकमको सीमा तोक्ने, राहत रकम स्वीकृत गर्नेलगायतका काम गर्ने छ । क्षतिको राहत सिफारिस गर्न जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको राहत व्यवस्थापन सिफारिस समिति गठन हुने र समितिले राहतका लागि प्राप्त निवेदनको जाँचबुझ गरी मापदण्डबमोजिम राहत रकम मन्त्रालयमा सिफारिस गर्ने व्यवस्था छ ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले प्राकृतिक र गैरप्राकृतिक विपदबाट प्रभावित किसानलाई गत आवमा प्रदान गरिएको राहत रकमले केही सहयोग पुगेको बताए । प्रभावित किसानलाई प्रदान गरिएकाे राहत रकमले कृषि तथा पशुपन्छी कर्ममा लागिरहन प्रोत्साहित गर्ने भएकाले बजेटमा वृद्धिसँगै कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए । गत आवमा मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक करोड ५७ लाख ७५ हजार १६० रुपैयाँ राहत रकम किसानलाई वितरण गरेको थियो । राहत कार्यक्रम रकमबाट काभ्रे, चितवन, नुवाकोट, मकवानपुर, दोलखा, काठमाडौँलगायतका जिल्लाका कृषि फार्मसँगै किसान लाभान्वित भएका छन् । राहत रकम प्राप्त गर्न किसानले बिमा नगरेको र कुनै निकायबाट राहत नलिएको हुनुपर्ने व्यवस्था छ ।