काठमाडौं, २८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
उनले संसदको पहिलो र दोस्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । उनले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने बताए । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने बताए ।
‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो’ उनले भने,’त्यो डर हो, सुशासनको डर । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफैँ मूल्याङ्कन गरिरहनुभएको होला । मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ ।’