भरतपुर, २७ असार ।
भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको हो । संघीय सरकारको २५ करोड र अस्पताल विकास समितिको ५ करोड रुपैयाँमा मेसिन खरिद गरिएको उनले बताए ।
इस्ट वेस्ट कम्पनी एक्लैले बोलपत्र पाएको एकवर्षपछि उपकरण ल्याएर सञ्चालनमा ल्याईएको हो । अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलका अनुसार सिमेन्स कम्पनीको थ्री टेस्ला एमआरआई ६४ स्लाईसको मेसिन ल्याईएको हो । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले रोगको पहिचान र उपचारमा प्रभावकारी हुने उनको भनाई छ ।
स्वास्थ्य बीमा बोर्डलले तोकेको शुल्कमा नै यहाँ परीक्षण गरिने पौडेलले बताए । पौडेलका अनुसार सामान्यतया नौ हजारदेखि १४ हजार रुपैयाँसम्ममा एमआरआईबाट परीक्षण हुनेछ । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने उनले बताए ।
अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नु परेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वा निजी अस्पताल जानुपर्ने बाध्यता थियो । अस्पतालमा दुर्घटनाका धेरै बिरामी आउने गर्दछन् ।
अस्पतालमा सिटीस्क्यानलगायतका उपकरण यस अघि नै ल्याईएको छ भने क्याथल्याब ल्याउने तयारी गरिएको छ । धेरै बिरामी उपचार गर्ने अस्पतालमा यो पर्दछ । यहाँ दैनिक दुई हजार पाँच सय हाराहारी बिरामी बहिरंग विभागमा आउने गर्दछन् ।