भरतपुर, २७ असार ।
चितवनको भरतपुर बजार क्षेत्रका सटरहरु खाली हुँदै जान थालेका व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसाय गरेर सटर भाडा तिर्ने पैसा नउठेपछि व्यवसायीहरु विस्थापित हुँदा सटर खाली भएका नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले जनाएको छ ।
मञ्चको १३औँ स्थापना दिवसको सन्दर्भमा बिहीबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष ख्यामनारायण पराजुलीले व्यवसायी पलायन हुने क्रम बढ्दै गएको बताए । “दिनभरी बसेर सटर कुरेर बस्दासमेत व्यापार नै हुँदैन” उनले भने, “तीन चारवटा सटरमा व्यवसायी गरेर बसेकाले समेत सटर घटाउँदै लगेका छन् ।” भरतपुर क्षेत्रमा मात्रै नभएर चितवनभर नै व्यवसायीहरु पलयन हुँदै गएका र नयाँ व्यवसायीसमेत लगानी गर्न डराउने पराजुलीको भनाइ छ ।
“व्यापार नभएर सटर भाडा तिर्नै कठिन हुने गरेको अवस्थामा कतिपय घरधनीले घरबहाल करसमेत व्यवसायीबाट उठाउँदा झन् समस्या परेको छ” उनले भने, “घरबहाल कर कुनै पनि बहानामा व्यवसायीसँग उठाउनु हुँदैन घरधनीले तिर्नुपर्ने कानुनी व्यवस्था छ ।” घरबहाल उपभोक्ता मञ्च बहालमा बस्नेको मात्रै नभइ घरधनीकोसमेत संस्था भएको उल्लेख गर्दै पराजुलीले पछिल्लो समय घरधनीलेसमेत समस्या लिएर आउने गरेका बताए ।
पत्रकार सम्मेलनमा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले घरधनी र बहालमा बस्ने दुवैको समस्या आफूहरुले समाधान गर्दै आइरहेको बताए ।
मञ्चले यही असार २९ गते आफ्नो १३औँ स्थापना दिवस मनाउन लागेको अध्यक्ष जनकलाल कट्टेलले बताए । विगतका वर्षहरुमा रक्तदान, सरसफाइ, शैक्षिक सामग्री वितरण, वृक्षरोपणलगायतको काम गर्दै स्थापना दिवस मनाएको स्मरण गर्दै उनले यस वर्ष मौलकालिका मन्दिर सरसफाइ र वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको बताए ।
असार २९ गते मञ्चले एसइईमा उत्तीर्ण आफ्ना सदस्यका छोराछोरीलाई सम्मान तथा ज्येष्ठ नागरिकलाई भोजन गराएर स्थापना दिवस मनाउने कार्यक्रम रहेको कट्टेलको भनाइ छ ।
पत्रकार सम्मेलनमार्फत मञ्चले विभिन्न पाँच बुँदे माग राखेको छ । व्यवसायी पलायन हुने क्रम बढेपछि उनीहरुलाई व्यवसायमा टिकाउन घनधनीहरुले व्यवसायीलाई सटर भाडामा छुट दिनुपर्ने, घरधनीबाटै घरबहाल कर उठाउनुपर्ने, व्यवसायको कर चुक्ता गर्न जाँदा व्यवसायीसँग बहाल कर तिर्न दबाब दिन नहुने, बैंक तथा वित्तीय संस्थाहरुले पुराना करमा कर्जाको व्याजदरलाई एक अङ्कमा सीमित गर्न तथा व्यवसायीलाई मानसिक तनाब नदिन र भाखा नाघेका ऋणको समयावधी थप गर्न माग गरेका छन् ।
नेपाल घरबहार उपभोक्ता मञ्च चितवनसँग एक हजार तीन सय ६८ सदस्य आबद्ध रहेका उनको भनाइ छ ।