भरतपुर,२७ असार ।
भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जाँदा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिए । ‘ बिहान ५ बजेनै टिकटका लागि बिरामीहरू आएको देखिन्छ जुन आवश्यक छैन । ’ उनले भने- ‘भरतपुर अस्पतालमा ओपिडीको टिकट काट्न अबदेखि १०–१५ मिनेट मात्र समय लाग्नेछ ।’ ओपिडीको अनलाइन ‘टिकेटिङ’को सुविधा भएपनि हाललाई बीमामातर्फ केही समय स्थगित गरिएको उनले उल्लेख गरे ।
जिओपिडी बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म दुई सिफ्टमा सञ्चालित छन् । डेन्टल ओपिडी ९ः३० देखि बेलुकी ५ बजेसम्म र अन्य ९ः३० देखि ३ बजेसम्म सञ्चालित छन् ।
एक बजेपछि विशेषज्ञ चिकित्सकहरूलाई रू पाँच सयको टिकट काटी ‘पेईङ’मा देखाउन सकिने समेत उनले बताए । ‘बीमाको औषधि थप्न बिहान ७ बजे नै खुल्नेगरी रिफिल काउण्टरको व्यवस्था छ । टिकट काउण्टरहरू अपाङ्गता भएका, ७० काटेका जेष्ठ नागरिक, महिला-गर्भवती, जिओपिडी, मेडिकल ओपिडी, अर्थोपेडिक, सर्जरीलाई छुट्टाछुट्टै ओपिडी काउण्टर रहनेछन्।’ मेसु पौडेलले भने । अस्पतालमा बिल काउण्टर ८ वटा सञ्चालित छन् ।
चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र रहेको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सय हाराहारीका बिरामीले ओपिडी सेवा लिने गरेका छन्