मकवानपुर, २६ असार ।
ऋषिराम पोखरेलको पुस्तक ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक भएको छ । सर्जक सञ्जाल मकवानपुरले पोखरेलको पहिलो कृति अनुभूतिका आँखाहरु सार्वजनिक गरेको हो ।
लामो समय शिक्षण पेशामा आबद्ध रही अवकाश प्राप्त पोखरेलले आफ्नो जीवनका विभिन्न अनुभूति समेटी लेखेको पुस्तकको प्रकाशक हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी रहेका छन् । लेखक पोखरेलले आफ्नो कृतिलाई अनुस्मरण भनेका छन् ।
समालोचक घनश्याम घिमिरेले कृतिमा लेखकले भोगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताको तस्तै उतारिएको बताए । कृतिकारले समाजमा रहेका स्वार्थी व्यक्तित्व र वैचारिक रुपमा स्खलित भएकाहरुप्रति कडा प्रहार गरेको समेत घिमिरेले जानकारी दिए । कृतिमा कलात्मक र साहित्यिक पक्षमा भने केही कमजोरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय वन्दनाले पनि कृतिभित्रको वैचारिक पाटो, नारीवादी चेतका साथै विभिन्न सकारात्मक र सुधारात्मक पाटोबारे चर्चा गरेका थिए ।
बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष ईन्द्र नेपाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, शिक्षासेवी देव श्रेष्ठलगायतले शुभकामनाका साथै कृतिबारे धारणा राखेका थिए ।