मकवानपुर, २५ असार ।
बागमती प्रदेशको चितवन, काभ्रेपलाञ्चोक, सिन्धुली र धादिङ जिल्लामा गरी एकै दिन ४ जनाको मृत्यु भएको छ । उक्त जिल्लामा विभिन्न घटनामा परी एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ त्रिचोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय मनोज तामाङ प्रहरीले जानकारी दिएको छ ।
सोमबार भित्री सडकखण्डमा पिपलचोकबाट त्रिचोकतर्फ जाँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक तामाङ र मोटरसाइकलमा सवार कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङ घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वड नम्बर १, सानो भुक्देउमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कमल बिक रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बेलुका बिक गाउँबाट घर जाँदै गर्दा सानो भुक्देउ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । बिकलाई खोजी गर्दै जाँदा खोला तरेको स्थान भन्दा २ किलोमिटर तल बगरमा सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, दर्लामडाँडामा एक जनाको बेहोस भई मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय प्रेम बहादुर बिश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका ५ बजेर ४५ मिनेटको समयमा बिश्वकर्मा घर नजिक आफ्नै खेतबाट फर्कने क्रममा छिमेकीको घरमा गई बस्दा बेहोस भई ढलेका थिए । प्रहरीका अनुसार बिश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा उपचारको क्रममा बेलुका मृत्यु भएको हो ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१२, गौतीफाँटमा पौडी खेल्ने क्रममा डुबी घाइते भएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ घर भई हाल निलकण्ठ नगरपालिका–१२ साङकोष बस्ने २४ बर्षीय साजन सिम्खडा रहेको प्रहरीले जानकारी दिएको छ ।
सिम्खडा सोमबार बिहान गौतीफाँटस्थित थोपलखोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा बिहान उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको बागमती प्रहरीले जानकारी दिएको छ ।