भरतपुर, २५ असार ।
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले महत्वपूर्ण ३ अंक जोडेको छ । लिग अन्तर्गत मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३–० गोलले हराउँदै माडीले ३ अंंक जोडेको हो ।
माडीको जितमा सन्देश महतोले दुई तथा आशिष भुजेलले एक गोल गरे । खेलको चौथो मिनेटमा नै आशिषले गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सन्देशले गोल गर्दै माडीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा सन्देशले व्यक्तिगत दोस्रो गोल गरेपछि माडी ३–० गोलले विजयी भयो । उनी नै म्यान अफ दि म्याच भए ।
अर्को खेलमा बराबरी गर्दै रामपुर फुटबल क्लब रड्स र नारायणगढ फुटबल क्लब (एनएफसी) ले अंंक बाँँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोली २–२ गोलको बराबरीमा रोकिएका हुन् । रामपुरका लागि अश्विन पाख्रिन र चित्रबहादुर कुमालले गोल गरे । एनएफसीका प्रवेश गुरुङ र सुगम तामाङले गोल गरे । खेलको नवौं मिनेटमा अश्विनको गोलमा रामपुरले अग्रता लियो । तर ४० औं मिनेटमा प्रवेशले एनएफसीका लागि बराबरी गोल फर्काए ।
४८ औं मिनेटमा सुगमले गोल गरेपछि एनएफसीले अग्रता लियो । तर ६२ औं मिनेटमा चित्रको गोलमा बराबरी गर्दै रामपुरले एनएफसीसँँग एक अंंक खोस्यो । रामपुरका अश्विन म्यान अफ दि म्याच भए ।
लिगमा दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । बुधबारबाट तेस्रो चरण सुरु हुनेछ । तेस्रो चरणको पहिलो खेल बुधबार २ः३० बजे पानस युवा क्लब र आई स्टडी गीतानगर ब्वाइजबीच हुनेछ ।
बुधबार नै दिउँसो ४ः३० बजे दोस्रो खेलमा सौराहा युवा समान र नारायणी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।