पोखरा, २५ असार ।
पुछारसिटे अभियानको आयोजनामा कथाकार डा. पुरण राईको कथासङ्ग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले अस्तु कथासङ्ग्रहको समीक्षा गर्दै कथाकार पुरण राईका कथालेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरु मौलिक रहेको, विषयवस्तुको चयन, आख्यान बुनौट शैली र प्रस्तुति प्रशंसनीय रहेको बताए ।
स्रष्टा परिचय दिँदै दीपक समीपले डा. पुरण राई साहित्यको विविध विधामा उत्तिकै सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाए । प्रमुख अतिथि साहित्यकार सरुभक्तले पुरण राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गरे ।
कथाकार डा. पुरण राईले आफ्नो लेखन पक्षको बारेमा बताउदै लेखकले आफ्नो समाजकोलागि केही न केही योगदान दिनु पर्ने बताउँदै आफूले साहित्य लेखनको साथसाथै अनलाइन अभिलेख स्थापना गरी साहित्यको उन्नयनकोलागि विविध क्रियाकलाप गर्दै आइरहेको बताए ।
कार्यक्रममा अनलाइन अभिलेख प्रालिले चार जना साहित्यकारहरुलाई ‘अभिलेख सम्मान’ बाट सम्मानित गरेको थियो । सम्मानित हुने साहित्यकारहरुमा सरस्वती श्रेष्ठ सरु, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र सञ्जीव पौडेल रहेका छन् ।
वरिष्ठ साहित्यकार सरुभक्त र अनलाइन अभिलेखका डा. पुरण राईले संयुक्तरुपमा साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मानित गरेका थिए ।
पुछारसिटे अभियानका सुरज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम श्रीराम अधिकारी गोर्जेले चलाएका थिए ।