भरतपुर, २४ असार ।
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बङ्गला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरे ।
२०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरपालिकाको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बङ्गलाले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।
चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाई थियो ।
मन्त्री तामाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । देशको मध्यभागमा रहेकोले दियालो बङ्गला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तामाङले विश्वास व्यक्त गरे ।
महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरेसँगै एउटा महत्वपूर्ण काम पूरा भएको बताइन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई थियो । अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन् ।
नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् । भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गराएका थिए । राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बङ्गलाको प्रयोग गरेको बताइन्छ । विशेषगरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बङ्गला बसाइँ सर्थे । त्यसैले यो बङ्गलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।
राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बङ्गलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बङ्गला क्षेत्र ५२ बिघामा फैलिएको छ । बङ्गला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ ।