गैँडाकोट, २४ असार ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीले प्रभावितहरुलाई खाना सहयोग गरेको छ । खाना सहयोग डिष्ट्रिक्ट ३२५ आरमा रहेको आपतकालीन कोषबाट गरिएको हो ।
असार २१ र २२ गते नारायणी नदीमा बाढी आउँदा गैडाकोट नगरपालिका वडा नम्बर- २ नारायणी टोल विकास संस्था क्षेत्रका करिब १३५ परिवार विस्थापित भएका थिए ।
बाढीबाट प्रभावितहरुलाई महेन्द्र आदर्श माध्यमिक विद्यालय गैडाकोट- २, सिलान्यास चोक र श्रीराम पार्टी प्यालेस गैँडाकोटमा राखिएको गैडाकोट नगरपालिका वडा नम्बर- २ का अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । वडा अध्यक्ष सापकोटाले बाढी प्रभावितलाई खानाका लागि सहयोग पुर्याएकोमा लायन्स क्लबलाई धन्यवाद दिँदै यस्तै मानवीय कार्यमा सहयोग पाईरहने विश्वास रहेको बताए ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका द्वितीय भाईस डिष्ट्रिक्ट गर्भनर प्रभाकर पण्डितले गैडाकोट नगरपालिका २ पुल्चोक क्षेत्रमा हरेक वर्ष जस्तो आउने बाढीबाट प्रभावितहरुलाई लायन्स डिष्ट्रिक्टले सधैँ सहयोग गरिराखेको बताए । उनले डिष्ट्रिक्ट ३२५ आरले यसपटक आपतमा परेका स्थानीय वासिन्दाका लागि खानाको प्रबन्ध गरिएको बताए । कार्यक्रममा उपस्थित लायनहरुलाई नागरिकलाई आवश्यक जुनसुकै स्थानमा पनि यसैगरी स्वस्फुर्त रुपमा मानवीय कार्यमा जुट्न उनलेे आग्रह समेत छ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आरका सचिव निरज श्रेष्ठ, कोषाध्यक्ष शंकर नेपाल, लायन्स सचिवालय सल्लाहाकार राजेन्द्र गौतम, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ दिपेन्द्र खतिवडा, कृष्ण पाण्डे, डिष्ट्रिक एक्जुकेटिभ चिफ एवं आपतकालीन कोषका संयोजक पूर्णप्रसाद शर्मा, गैडाकोट वडा नम्बर- २ का अध्यक्ष एवं सदस्यहरु, नारायणगढ–गैँडाकोट क्षेत्रका लायनहरुको उपस्थिति रहेको थियो ।