मकवानपुर, २४ असार ।
वागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमाले वागमती प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।
सोमबार मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको वागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
आर्थिक मन्त्रालयको नेतृत्व गरिरहेका थपलियाको नेतृत्वमा वागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासँगै प्रदेशको, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन् ।
संघीय सरकार सञ्चालनमा राजनीति गठबन्धन फेरबदल आएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागिरहेको नेकपा एमाले पार्टीबाट वागमती सरकारमा रहेका ५ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थपलियाले बताए ।