उपन्यासकार सिर्जन अविरलले ‘तथागत’ उपन्यासमा एउटीको आनीको कथा त सुनाएका छन् । त्यो कथा मनमोहक छ, तर त्यसमा आवृत्तिदोष अत्यधिक छ । उनी पटक पटक “यो संसार दुःखालय हो ।” भनेर लेख्छन् । त्यस्तै कथावस्तुमा पनि आवृत्ति छ । बरु एउटा पचास पृष्ठ जत्तिको लामो कथा बनाएर ‘तथागत’ होइन ‘आनीको कथा’ भनेको भए निकै उत्कृष्ट हुने थियो । हामी पाठकको समय, श्रम र पैसाको पनि बचत हुन्थ्यो ।
सिर्जन अविरलका बारेमा केही कुरा
चितवनको माटोका फसल सिर्जन अविरल । जन्म र बाल्यकालका बारेमा किन बोल्नु ? उनको र मेरो भौतिक भूगोल एउटै । शिक्षा लिएको थलो एउटै । सिर्जनामा तल्लीन भएको स्थान एउटै । उनले लिँदै गरेको साहित्यिक उचाइको साक्षी म । उमेरगत हिसाबले अलिक उनले भन्दा केही बढी भोटो मैलै फटाएँ होला । उनको परिचयको वृत्त निकै ठुलो छ मेरो भने निकै सानो । सिर्जनामा उनले मैलेभन्दा निकै ठुलै भूगोलमा आधिपत्य जमाइसकेका छन् । आरिस गरेर भयो र ?
त्यसो त सिर्जनामा चिनारीले काम नगर्दो रहेछ । मेरा लागि यसको ज्वलन्त उदाहरण बनेका छन् सिर्जन अविरल । कविताबाट लेखनयात्रा सुरु गरेका सिर्जन अविरलको साहित्यिक यात्रा जीवनी, फुटकर कथा हुँदै उपन्यासमा पुगेर क्रियाशील छ यतिबेला । ‘मोक्ष’ (२०७८) बाट उपन्यासयात्रा थालेका उनको ‘तथागत’ (२०८१) यतिबेला नेपाली आख्यानका क्षेत्रमा हट केक बनेको छ । हालसालै सम्पूर्ण किताब नारायणगढमा ‘तथागत’ र ‘अलिकति फरक कुरा’ साटसाट गरियो । पाठकवृन्द, यसरी किताब साटेर मितचाहिँ लगाएको होइन है ।
‘तथागत’को सामान्य कुरा
प्रकाशन मिति वि.सं. २०८१ जेठ राखेर यही असारको पहिलो साता बजारमा देखा परेको हो ‘तथागत’ उपन्यास । सुन्दर आवरणसहित साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि., काठमाडौँले प्रकाशन गरेको यो कृतिले जम्मा १९२ पृष्ठ ओगटेको छ । जम्मा सोह्रवटा शीर्षकसहितको परिच्छेद विभाजन गरिएको यो उपन्यासको मूल्य ४४५ रुपैयाँ राखिएको छ ।
उपन्यासको पहिलो परिच्छेदका रूपमा आएको ‘सत्य’ शीर्षकको उठान यसरी गरिएको छ : “उज्यालो थियो त्यो साँझ । गुम्बामा बत्तीहरू बलिसकेका थिए ।” (पृष्ठ ः १) भनेर यसको सुरुमै गुम्बाको कथा भनिएको छ । सिङ्गो उपन्यासको कथावस्तु सोही गुम्बामा घटित भएको छ । त्यसैले ‘तथागत’ उपन्यास बौद्ध गुम्बाको कथा हो । अझ भनौँ एउटी आनीको कथा हो ।
`तथागत’का विशेष कुरा
चितवनको समथर जमिनमा बसेर नेपाली साहित्यको आराधना गरिहेका बहुमुखी प्रतिभाका धनी सिर्जन अविरलको दोस्रो औपन्यासिक कृति हो ‘तथागत’ । बौद्ध धर्म मान्नेहरूको जीवनलाई चित्रण गरेको छ यो उपन्यासले । आनी दीपशिखाको नीरस जीवनको चित्रण छ यो उपन्यासमा । यी त भए उपन्यासकार र उपन्यासका बारेमा सामान्य कुरा ।
आफ्ना आमाबाबुलाई राम्ररी नचिन्दै जनयुद्धमा तिनलाई गुमाएर फुपूको घरमा आश्रय लिई बसेकी दीपशिखाले दश–एघार वर्षको कलिलो उमेरमै आनी बन्ने निर्णय मात्र गर्दिन, सदाका लागि फुपूको घर छोडेर गुम्बामा आनी बनेर बस्न पुग्छे । त्यहाँ उसले आफूभन्दा निकै पाको उमेरकी आनी रिन्छेनको सामीप्यता पाउँछे । रिन्छेनबाट आमा, गुरुआमा र साथीको व्यवहार पाउँछे । ज्ञानका अजस्र स्रोत पनि भेट्टाउँछे । आफूलाई मनमा लागेका कुराको समाधान सजिलै भेट्छे । कलिलै उमेरमा वैराग्य धारण गरेका भए पनि उसका मनमा पनि विभिन्न खालका रागका कुराहरू आउँछन्, तर ती रागहरूमाथि अन्नतः वैराग्यले विजय पाउँछ । ‘तथागत’को सारवस्तु यत्ति हो ।
छोटकरीमा भन्नुपर्दा आनी दीपशिखा र रिन्छेनको संवाद हो ‘तथागत’ । दीपशिखाले जीवित रहँदा मात्र नभएर मरिसकेको अवस्थामा पनि रिन्छेनकै सम्झना गरेकी छ । यस्तो लाग्छ, रिन्छेनबिना दीपशिखाको अस्तित्व नै छैन । यसरी रिन्छेनलाई रुख र दीपशिखालाई लहराका रूपमा चित्रण गरेको छ यो उपन्यासले । यो नै यस उपन्यासको गाँठी कुरा हो । बाँकी कुरा खोतल्ने जिम्मा तपाईंको ।
त्यसो भए यत्ति हो त ‘तथागत’ ?
हो, आफ्नो समयमा गौतम बुद्ध मूर्तिपूजाका घोर विरोधी थिए । उनको मृत्युपछि तिनै बुद्धको मूर्तिपूजा गर्नु कत्तिको जायज कुरा हो ? बुद्धका विचारलाई समग्रमा नलिएर खण्ड खण्डमा बाँडिएर विभिन्न सम्प्रदायमा बाँड्नु उपयुक्त हो ? बुद्धले दिएका उपदेशको सही पालना भयो कि भएन ? भौतिकताका अनुयायी बुद्धका विचार मान्नेले अवतारी लामाको कुरा गर्न सुहाउँछ ? हिजोआज धर्मका नाममा गुम्बाभित्र भएका राजनीतिक गतिविधिको निगरानी कसले गरिदिने ? अहिलेको प्रविधिको युगमा गुम्बामा त्यसले कस्तो प्रभाव पारेको छ ? गृहस्थी जीवन त्यागेर आनी र भिक्षु भई वैराग्य धारण गरेकाले पुनः गृहस्थी जीवनमा प्रवेश गर्नु कत्तिको जायज कुरा हो ? यी र यस्तै प्रश्नको वरपर फन्का मारेको छ ‘तथागत’ उपन्यासले ।
‘तथागत’ले पाठकसमक्ष प्रस्तुत गरेको मुद्दा भनेकै हामीले बुद्धलाई कुन रूपमा पढ्दै आयौँ ? कुन रूपमा बुझ्दै आयौँ ? बुद्धका वचनलाई कसरी पालना गर्दै आयौँ ? भन्ने हो । त्यति मात्र नभएर अबको पुस्ताले बुद्धलाई कुन रूपमा बुझ्दा राम्रो हुन्छ ? भन्ने लेखकीय सन्देश पनि हो । अचेल बुद्ध धर्मलाई धर्मका रूपमा मात्र नलिएर कतिपय अवस्थामा व्यापार बनाउने काम पनि भएकोमा कलात्मक विरोध पनि गरिएको छ यो उपन्यासमा । धर्मका नाममा राजनीति हुनुहुँदैन भन्ने लेखकीय विचार पनि छ यो उपन्यासमा । त्यसैले यो उपन्यास विविधताको सङ्गम हो ।
`तथागत’मा बुद्धदर्शन छ त ?
तपाईंको हातमा ‘तथागत’ उपन्यास पर्ने बित्तिकै पछिल्लो आवरणमा लेखिएको कुरा देख्नुहुनेछ : “एउटी आनीको कथा हो तथागत । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको प्रस्तुत आख्यानमा बुद्धदर्शनसँगै भौतिक र आध्यात्मिक जीवनको फ्युजन भेटिन्छ ।”
माथिको साक्ष्यले ‘तथागत’ उपन्यासमा बुद्ध दर्शन छ भनेर ठोकुवा गरेको छ । उपन्यास पढ्दै जाँदा गुम्बाभित्र भिक्षु र आनीले पालना गर्नुपर्ने पञ्चशील, अष्टशीललगायतका विभिन्न खालका शीलहरूको चर्चा पाइन्छ । कताकति धर्म देशनाका क्रममा बुद्धका कुराहरू आउँछन्, बस् त्यत्ति हो । बाँकी त आनी दीपशिखा र आनी रिन्छेनका कुराकानी मात्र आउँछन् । यसरी गरिएका कुराकानी पनि कतै सारै कमजोर खालको पाइन्छ भने कतैकतै केही उत्कृष्ट खालको पाइन्छ । त्यसो त आनी रिन्छेनले दीपशिखालाई पछिसम्म पनि ‘बालखी’ भनेर सम्बोधन गर्छिन् । यसले उनमा परिपक्वता नआएको हो कि भन्ने भ्रम पाठकमा पर्छ । यस्ता कुराकानीलाई बुद्ध दर्शन भनिनु कत्तिको जायज हो ? मसँग चाहिँ यसको उत्तर छैन ।
आख्यानका रूपमा ‘तथागत’को प्राप्ति
बुद्ध हामी बस्ने देश नेपालमा जन्मिए कि हामी बुद्धभूमिमा जन्मियौँ ? यो प्रश्न निकै जटिल बन्दै गएको छ यतिबेला । हामी गौतम बुद्धलाई जबर्जस्ती नेपाली नागरिकता दिने मानसिकतामा छौँ, तर बुद्धका वाणीहरूको पालना गरिरहेका छैनौँ । अझ यसो भनौँ न हामी बुद्धलाई अङ्ग्रेजहरूले भिराइदिएको ‘लाइट अफ एसिया’का रूपमा मात्र बुझ्दै आइरहेका छौँ । गौतम बुद्धलाई धर्मका नाममा पूजा गरिँदै आएको छ, उनले सुझाएको आचरण पालना गरिएको छैन । त्यस्तै उनका बारेमा साहित्यमा लेखिए पनि निकै कम लेखिएको छ ।
बुद्धलाई बुझ्न टाढा जानु पर्दैन । यो भौतिकवादी दुनियाँमा धेरै मानिस डिप्रेसनको शिकार भएका छन् । त्यसको समाधान भने शान्तिको खोजी हो । यो संसार दुःखालय हो । दुःखबाट मुक्तिको खोजी बुद्ध वाणीमा छ । हो, यस्तै यस्तै जीवनोपयोगी कुराको खोजी तथागत उपन्यासमा छ, हेरौँ एउटा साक्ष्य :
“जगत्मा दगुरिरहेको मान्छे स्वयम्लाई थाहा छैन, किन दगुरिरहेको हो । संसार केवल दृष्टिभ्रम हो । सांसारिक मान्छे बाहिर हेर्छ । आफूभित्र हेर्ने चेष्टा गर्दैन । जीवन छोटो र मृत्यु शाश्वत छ । आफूले प्राप्त गरेका कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन । यो नै दुःखको सुरुआत हो ।” (पृष्ठ : ८५)
बुद्धले यो संसारलाई दुःखको भण्डार भने । सिर्जन अविरलले आफ्नो ‘तथागत’ उपन्यासमा संसारलाई दुःखालय भने । त्यसकै पुष्टि गर्ने काम उपन्यासभरि गरेका छन् । बुद्धका वाणीको पछाडि लाग्नु नै यो उपन्यासको मूलभूत प्राप्ति हो ।
`तथागत’को सीमा र समापनका कुरा
पाठकवृन्द, आख्यान लेख्दा विभिन्न खालका प्रविधि (टेक्निक)को प्रयोग गरिन्छ । त्यसमध्ये कथाकथन कसरी गर्ने ? भन्ने पनि एउटा हो । कथाकथन गर्ने पद्धति दृष्टिबिन्दुभित्र पर्छ, त्यो पनि आन्तरिक र बाह्य गरी दुई खालको हुन्छ । आन्तरिक दृष्टिबिन्दुमा पात्र आफैँले म भएर कथा भन्छ भने बाह्य दृष्टिबिन्दुमा आख्यानकार स्वयम्ले कथावाचन गर्छ । आख्यानकारले सबै कुरा आफैँले देखेको जस्तो गरी पाठकलाई सुनाउँछ । यो ’तथागत’ उपन्यासमा पहिलो खालको अर्थात् आन्तरिक दृष्टिबिन्दुको प्रयोग भएको छ ।
’तथागत’ उपन्यासकी कथावाचिका आनी रिन्छेन सुरुदेखि अन्त्यसम्म कपन गुम्बाभित्रै छिन् । उनले सुनाएको कथामा एक खालको लय छ । कथा सुन्दा मज्जा आउँछ, तर उपन्यास पढिसक्दा उनले सुनाएको कथा कसले सुनेको छ ? भन्ने प्रस्ट देखिँदैन । यस्तोमा लेखकसम्म यो कथा कसरी आइपुग्यो ? यो अहम् सवाल उठ्छ । यसका लागि लेखकले कथा सुन्ने कुनै एउटा पात्रको सिर्जना गरेको भए आधिकारिक हुन्थ्यो । नभए बाह्य दृष्टिबिन्दुको प्रयोग गरेको भए हुने ।
म यहाँ टेक्निकको कुरा गर्दै छु । उपन्यासमा चित्रण हुने अर्को कुरा परिवेश हो । त्यसभित्र देश, काल र वातावरण पर्छ । यो उपन्यासमा देश र वातावरणको चित्रण सुन्दर छ, म त्यतातिर जान्नँ । समयका बारेमा लेखक अलि चिप्लिएका हुन् कि ? मरिसकेकी आनीसँग संवाद गर्नु त्यसको एउटा उदाहरण हो । कि त चेतन प्रवाह शैली अपनाउनु पर्थ्यो, त्यो पनि छैन । त्यस्तै अर्को समस्या आनी दीपशिखाको उमेरमा देखिन्छ । अहिले २०८१ साल । सबैलाई थाहा छ, देशमा माओवादी जनयुद्ध वि.सं. २०५१ मा सुरु भएको हो । आनी दीपशिखाले आफू गुम्बामा आउँदा त्यस्तै दश एघार वर्ष भएको र अहिले पचास कटिसकेको कुरा गरेकी छिन् । २०५१ सालमै उनका बाआमा पक्का मारिएनन् होला । यदि मारिएकै भए पनि २०५१ बाट २०८१ सम्म तीस वर्ष र त्यसमा एघार वर्ष जोड्दा जम्मा एकचालीस वर्ष मात्रै हुन्छ । पचास वर्ष त कतैबाट पनि पुग्दैन । यसमा लेखक पक्कै चिप्लिएका हुन् ।
अब यो लेख टुङ्ग्याउनुअघि यतिबेलाको नेपाली आख्यानको कुरा गर्छु । अचेल केही लेखक उपन्यास भनेर एक पृष्ठमा ठुला ठुला अक्षरमा दुई चार शब्द राख्ने र अर्को पृष्ठभरि चित्र राखेर हामी सबै पाका पाठकलाई बालसाहित्यजस्तो आख्यान पस्किरहेका छन् । केही उपन्यासकार एउटा कथामा भनेर सकिने कुरालाई चुईंगमजस्तो अनावश्यक तन्काएर लामो बनाइरहेका छन् । यसले लेखकमा विषयवस्तुको कमी भएको प्रस्ट देखाउँछ । सिर्जनजीले एउटीको आनीको कथा त सुनाए तर त्यसमा आवृत्तिदोष अत्यधिक छ । एउटा पचास पृष्ठ जत्तिको लामो कथा बनाएर ‘तथागत’ होइन ‘आनीको कथा’ भनेको भए निकै उत्कृष्ट हुने थियो । जे होस्, समग्रमा एउटा पठनीय उपन्यास हामीमाझ पस्किएकोमा सिर्जन अविरललाई धेरै धेरै बधाई छ ।