मकवानपुर, २२ असार ।
केन्द्रीय सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि त्यसले असर पर्ने भएकाे छ । काँग्रेस र एमाले बीच गत सोमबार भएकाे सहमति अनुसार बागमतीमा काँग्रेसकाे नेतृत्वमा सरकार गठन हुने छ । हाल नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा एमालेसहितका दलकाे सरकार छ । तर एमालेबाट बागमतीमा सहभागी मन्त्रीहरु राजीनामा बुझाउने तयारीमा छन् । बागमती प्रदेश सरकार ढल्ने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा बाहिर गएकाे बुझिएकाे छ ।
नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारकाे समेत आयु गणना सुरु भएकाे छ । ३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरण बदलिएसँगै सत्ता छाड्नुपर्ने परिस्थिति बनेको हो । प्रदेश सरकार निर्माणलगायतका विषयमा निर्णय गर्न बागमतीका सत्ता साझेदार दलहरू केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा छन् ।
माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेललाई शुक्रबार भेटेरै राजीनामा बुझाउन खोजेपनि उनी हेटौँडा बाहिर रहेका कारण सम्भव नभएकाे बताइएकाे छ । तत्काल राजीनामा बुझाउने एमालेका मन्त्रीहरूको योजना मुख्यमन्त्री हेटौँडा आएपछि हुने भएकाे छ ।
केन्द्रीय तहमा एमाले र कांग्रेसको साझेदारीको सरकार बन्ने भएपछि बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने छ । सोही समीकरण अनुसार सरकार गठनका लागि जम्कट्टेल नेतृत्वको सरकारबाट एमालेले अलग हुँदै समर्थन फिर्ता लिनु पर्ने हुन्छ । एमालेले नयाँ समीकरण अनुसार सरकार गठनमा पहल गर्न राजीनामाको तयारी गरेपनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौं भएकाे बुझिएकाेले राजीनामा बुझाउन भने बाँकी रहेकाे एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । उनले भने, ‘मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामा बुझाउँछौँ ।’
एमालेका मन्त्रीहरू ३ महिनामा बाहिरिँदै
वर्तमान सरकारमा नियुक्त भएको ३ महिनामा नै एमालेले मन्त्रीहरूलाई राजीनामा गराउँदै छ । २० फागुन २०८० मा केन्द्रमा नेकपा माओवादी र नेकपा एमालेसहितकाे सत्ता समीकरण भएपछि प्रदेशमा १७ चैत २०८० मा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । बागमतीमा एमाले करिब १ वर्ष प्रतिपक्षमा रहेकोमा माओवादी केन्द्र, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीको साझेदारीको सरकारमा सहभागी भएको थियो । एमालेबाट गत चैत १७ मा एक र चैत २० मा ५ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।
एमालेबाट जम्कट्टेल नेतृत्वको चैत १७ मा आर्थिक मामिला तथा योजना मन्त्री थपलिया र चैत २० मा प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री थपलियासहित खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सहभागी भएका थिए ।
आन्तरिक भेटघाटमा व्यस्त मुख्यमन्त्री जम्कट्टेल
यसैबिच सत्ता समीकरण फेरिने सहमति बनेलगत्तै काठमाडौँ पुगेका मुख्यमन्त्री जम्कट्टेल आन्तरिक भेटघाटमा व्यस्त छन् । पार्टीका शीर्ष नेतासहित अन्य दलका नेताहरूसँग उनले भेटघाट गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता समीकरण र सरकारको भविष्यका विषयमा मुख्यमन्त्री जम्कट्टेलले संसदीय दलका सदस्य र पार्टी कमिटीसँग छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताए । सत्ता समीकरण परिवर्तनको सहमति पछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने र सो पश्चातको कदम निर्धारणका बारेमा पनि छलफल भइरहेको उनले बताए ।
मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार निर्माणको प्रक्रिया अघि बढाइएपछि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने रणनीति तय गरेका छन् । केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने गरी तयारी गरेकाेले उनले प्रदेशमा पनि संसदमा प्रक्रियाकाे फेस गर्ने तयारी रहेको बताइएकाे छ ।
सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि चैत १० मा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि ०८० चैत १९ मा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।
सत्ता समीकरण परिवर्तनपछि कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । यद्यपि, अहिलेसम्म प्रदेश सरकार परिवर्तनका विषयमा प्रदेशमा नेतृत्व गर्ने दलहरूले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
जम्कट्टेलको प्रदेश सरकारकाे नेतृत्वको यात्रा
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेल समीकरण परिवर्तनसँगै ३ पटक सरकार जोगाउन सफल भए । पहिलो पटक ३ माघ २०७९ मा सो गठबन्धनबाट विश्वासको मत लिएर सरकारलाई निरन्तरता दिएका थिए जम्कट्टेलले । ३ माघ २०७९ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका उनले राप्रपा र एमालेसँगको सहयात्रा टुङ्गिएपछि १० चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए । त्यसयता जम्कट्टेलकाे लोकप्रियता निरन्तर खस्कँदै गएको देखिन्छ ।
२० फागुन २०८० मा पुनः सत्ता समीकरण परिवर्तन भएकाेमा २३ फागुनमा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच १९ चैत २०८० मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिएका थिए । उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।
सत्ता गठबन्धन परिवर्तनसँगै पटक पटक सङ्कटको सामना गरेका मुख्यमन्त्री जम्कट्टेल यसपटक भने निकै अप्ठ्यारोमा परेका छन् । गत सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण मुख्यमन्त्री पदबाट अलग हुनु पर्ने भएकाे हाे ।
प्रदेश सभाकाे अंकगणित
बागमती प्रदेश सभा ११० सदस्यीय रहेकाे छ । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।
प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेकाे छ । यो सरकार बनाउन पुग्ने भन्दा ८ ले बढी हाे । यसमा अन्य दलसमेत सहभागी हुने केन्द्रीय सरकार गठन हुँदा समर्थन गर्ने दलहरुकाे आधारमा तय हुने छ ।