भरतपुर, २१ असार ।
कवि विपिन पाठकको कवितासङ्ग्रह `मरुभूमिमा वासन्ती याम´ प्रकाशन हुने भएको छ । इन्डिगो इन्क प्रालि काठमाडौंले पुस्तक प्रकाशन गर्न लागेको हो । सङ्ग्रहमा ४० वटा कविता समेटिएको कवि पाठकले जानकारी दिए ।
६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । उनी भन्छन् – `सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका सन्देशमुलक कविता सङ्ग्रहमा राखेको छु ।´
प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव हुन् । २०४७ सालमा आमा पार्वती पाठक र बुवा बालकृष्ण पाठकको कोखबाट चितवनको माडीमा जन्मिएका उनी माडी साहित्य परिवारमा रहेर साहित्यिक गतिविधिमा सक्रिय थिए ।
एफएम रेडियोमा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा अनुभव बटुलेका पाठक विश्वप्रकाश मावि भरतपुरमा शिक्षण गर्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।