भरतपुर, २० असार ।
उद्यमशीलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भूमिका विषयक तीनदिने कार्यशाला बिहीबारदेखि शुरु भएको छ । विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ ? शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगारतिर आर्कषित हुन्छन् ? भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।
मैयादेवी कन्या कलेज र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उद्यमशीलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भूमिका विषयक कार्यशालामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मैयादेवी कन्या कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठले हातमा सर्टिफिकेट भएर मात्र व्यक्ति रोजगारीका लागि उपयुक्त नहुने भन्दै आवश्यकता अनुसारको शिक्षा र अनुभवको खा“चो रहेको बताए । उनले निजी क्षेत्र र शैक्षिक संस्थाहरु मिलेर उद्यमशिलता विकाशका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने बताए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाहरुबिचको ज्ञान साटासाट गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासको साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ ? भन्ने तथ्यांक उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । उनले विद्यार्थीलाई स्थापित गराउन पढ्दै कमाउँदै गर्नुपर्ने भएकाले कलेजहरुसँग सहकार्य गरेर रोजगार सृजना गर्न उद्योग वाणिज्य संघ–चितवन तयार रहेको बताए ।
मैयादेवी कन्या कलेजका क्याम्पस प्रमुख भोजराज न्यौपानेले विश्वको सबै विकसित देशहरु उद्यम र व्यवसायबाट नै सफल भएको बताउँदै कलेजका विद्यार्थीलाई उद्यमशील बनाउन निजी क्षेत्रको पनि सहयोगको आवश्यकता रहेको बताए । मैयादेवी कन्या कलेजको प्रध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपानेले अहिलेका युवाहरु भविष्यको खोजी गर्दै बढ्दो विदेश पलायनले भइरहेको अवस्थामा रोजगार गर्दै पढ्न पाए विद्यार्थीलाई सहज हुने बताए ।
कार्यशालामा उद्यमशीलता विकास सम्बन्धी ४ वटा शीर्षकमा स्रोतव्यक्तिहरुले प्रस्तुतीकरण गरेका थिए । व्यवसाय विकासमा निजी क्षेत्र, सार्वजनिक क्षेत्र र शैक्षिक क्षेत्रको भूमिका विषयमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सी., पर्यटन र उद्यमशीलताका विषयमा मैयादेवी कन्या कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख डा. विश्वराज सुवेदी, उद्यमशीलता र उत्प्रेरणा सम्बन्धी विषयमा चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल एवं अनुसन्धान र उद्यमशीलताका विषयमा शहिद स्मारक कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख राजु रानाभाटले प्रस्तुतिकरण गरेका थिए ।
मैयादेवी कन्या कलेजका प्रध्यापकज्यूहरु, विभिन्न कलेजका प्राध्यापक, कर्मचारी, विभिन्न कलेजका विद्यार्थीहरू गरी ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।