भरतपुर, १८ असार ।
भरतपुर–११, नहरचोक नजिक रहेको आरम्भ कलेजका विद्यार्थीले आइतबार चितवन उद्योग संघमा आइतबार आयोजित एक कार्यक्रममा उद्यमशीलताबारे छलफल गरेका छन् । उद्योग संघको महिला उद्यमी मञ्चले आरम्भ कलेजसँगको सहकार्यमा आयोजना गरेको समूहगत छलफल कार्यक्रममा सहभागी विद्यार्थीले छलफलमा भाग लिएका हुन् ।
आरम्भ कलेजका प्राचार्य सुरज शिवाकोटीले कलेजका ६५ जना विद्यार्थी कार्यक्रममा सहभागी भएको जानकारी दिए । ‘विश्वविद्यालयहरुमा स्टार्टअप संस्कृतिको विकास’ विषयक समूहगत छलफलमा महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोती, अन्नपूर्ण एग्रो फुड प्रोडक्ट्सकी प्रोप्राइटर प्रतिभा श्रेष्ठ, डोको नाम्लो किसान घरका निर्देशक भरत दवाडी र मल्टीभर्स इन्जिनियरीङ सोलुसनका प्रबन्ध निर्देशक इन्जिनियर अधिकार चालिसेबिच समूहगत छलफल भएको थियो । कार्यक्रमको मध्यस्थता उद्योग संघकी कार्यक्रम अधिकृत कल्पना बस्ताकोटीले गरेकी थिइन् ।
कार्यक्रममा वक्ताहरुले आफ्ना संघर्षका कथाहरु सुनाएका थिए । युवाहरुलाई शिक्षा र रोजगारीसँग कसरी जोड्ने ? सीप र उद्योगलाई कसरी सँगै जोड्न सकिन्छ ? विषयबारे छलफल भएको थियो । शिक्षा, रोजगारी, व्यवसाय र उद्योगबिचको सम्बन्ध नङ र मासुझैं हुने भएकोले उद्यमशील बन्ने सोचाई कक्षाकोठाबाटै विकसित गर्दै लैजानु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
युवा उद्यमी र विद्यार्थीलाई जोड्ने कडीका रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा १८ जना युवा उद्यमी समेत सहभागी थिए । यो कार्यक्रम उद्योग संघ र आरम्भ कलेजबिच सहकार्यको पहिलो पाइला भएको बताउँदै कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले आगामी दिनमा पनि यस्ता कार्यक्रममा कलेजको साथ र सहयोग रहने बताए ।