भरतपुर, १८ असोज ।
अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त गरेका सेफ सन्तोष शाहले आइतबार आरम्भ कलेज परिसरमा त्यहाँका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । आरम्भ कलेजले आयोजना गरेको कार्यक्रममा सेफ शाहले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् ।
सेफ शाहले विद्यार्थीहरुलाई उत्प्रेरणा दिँदै आफूले सफल हुन गरेका संघर्षको कथा सुनाएका थिए । उनले बिबिसी सेफ च्याम्पियनसीप प्रतियोगिताको उपाधि जित्न सफल सेफ शाहले यसका लागि आफूले पाँच वर्षदेखि तयारी गरेको बताए । उनले अन्तरक्रियामा बोल्दै पेशामा लगनशील भएमा व्यक्ति सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविबारे पनि बोलेका थिए ।
‘मिथिला थाली’ भनेर स्थानीय परिकारलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहुँच र पहिचान दिने काममा खटिएका शाहले हस्पिटालिटीका विविध आयाम र उद्यमशीलताबारे विद्यार्थीलाई प्रष्ट पारेका थिए । सेफ शाहले आफू भारतमा रहँदा र बेलायत गएपछि गरेको संघर्षबारे मार्मिक ढंगले विद्यार्थीमाझ बोलेका थिए । उनले विद्यार्थीसँगको अन्तरक्रियापछि आरम्भ कलेजको अवलोकनसमेत गरेका थिए । उनले आरम्भ कलेजको ‘पढ्दै कमाउँदै’ भन्ने मान्यताको खुलेर प्रशंसा गरेका थिए । अन्तरक्रियामा कलेजमा बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।
प्रिन्सिपल सुरज शिवाकोटीले आरम्भ कलेजले विद्यार्थीमा लगनशीलता र धैर्यतामा जोड दिएको बताए । उनले विश्वमै ख्यातिप्राप्त व्यक्तिलाई कलेजमा ल्याएर विद्यार्थीहरुसँग अन्तरक्रिया गराउनाले विद्यार्थीको मनोबल बढ्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।