भरतपुर, १६ असार ।
चितवन साहित्य परिषद् (चिसाप) ले २११औं भानु जयन्तीका दिन तीन जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । कार्य समितिको बैठकपछि चिसापले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारबारे जानकारी दिएको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार चिसाप प्रतिभा पुरस्कार २०८१ बाट रत्ननगर निवासी धनराज गिरी पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ रहेको छ । यसैगरी चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार ‘आकाश ओढेको डोल्पो’ कृतिका लागि भवानी खतिवडालाई अर्पण गरिने भएको छ । पुरस्कारको राशि ५० हजार ४५ रुपैयाँ रहेको छ ।
चिसाप वामदेव–लक्ष्मी साहित्य पुरस्कार २०८१ उपन्यास ‘कालपात्र’ का लागि पुरुषोत्तम दाहाललाई अर्पण गरिने छ । पुरस्कारको राशि ३५ हजार ४५ रुपैयाँ रहेको छ । चिसाप र नारायणी कला मन्दिरले असार २९ गते नारायणी कला मन्दिरमा आयोजना गर्ने भानु जयन्ती समारोहमा तीनै जना स्रष्टालाई पुरस्कार अर्पण गरिने चिसापले जनाएको छ ।