गैँडाकोट, १५ असार ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।
सहज सेवाकेन्द्र गैंडाकोट ४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुई ठाउँमा एकैपटक कार्यक्रम गरिएको हो ।
गैँडाकोटमा ५ वटा सामाजिक संस्थाहरुसहित भएको रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताले रक्तदान गरेका थिए भने २४ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
सहज सेवाकेन्द्रमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरेका थिए भने प्रमुख अतिथि नेफस्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराजज्योति पौडेल रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गरेकी थिइन् । संस्थाका निवर्तमान अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य राख्दै किसानले वित्तीय कारोबार मात्र नगरी सामाजिक क्रियाकलापहरुमा जोडिँदै मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम र विपन्न सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गर्ने काम विगत वर्षहरुमा समेत निरन्तर रुपमा यस्ता क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी दिए ।
त्यस्तै कावासोतीमा भएको कार्यक्रममा ६७ जना रक्तदाताले रक्तदान गरे भने २६ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
कावासोतीमा संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणि कँडेलको अध्यक्षता एवं जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम अधिकारीले गरेका थिए ।
संस्थाका सञ्चालक सदस्य देवी घिमिरेले स्वागत मन्तव्य दिँदै सम्पूर्ण उपस्थित अतिथिहरुलाई स्वागत गरेकी थिइन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता, अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजिरीजवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम रहेका छन् ।